मानव अधिकारकर्मी भन्नेहरुले गलत प्रतिवेदन बाहिर ल्याए : बम दिदिबहिनी
‘नेपाल मानव अधिकार संगठनविरुद्ध अदालत जान्छौं’
प्रकाशित २०७५ माघ १४ सोमबार
613
Shares
काठमाडौं। बम दिदिबहिनीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बताएका छन् । उनीहरुले सो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूलाई मानव अधिकारकर्मी भन्नेहरुले चरित्र हत्या गर्नेगरि स्थलगत अध्ययन तथा अनुसन्धान नै नगरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए । निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्,‘निर्मला मेरी साथी हुन् । यो प्रकरणमा मिडियाले पनि सत्य कुरा बाहिर ल्याउनुपर्छ ।’
प्रहरी अनुसन्धानले आफूहरुलाई दोषी सावित गरि नसकेको अवस्थामा असोज महिनातिर नेपाल मानव अधिकार संगठनको नामबाट चरित्र हत्या गर्नेगरि र आफूहरुलाई उक्त हत्याको मतियार भन्दै प्रतिवेदन बाहिर ल्याएको भन्दै उनले कडा आक्रोश पोखिन् । उनले भनिन्,‘नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरि र हामीलाई त्यस हत्याको मतियार भन्दै उक्त संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे।’
अर्यालले आफूहरुसँग एक वचन पनि नसोधेको उनले जिकिर गरिन् । उनले भनिन्,‘न हामीलाई भेटे, न हाम्रा छिमेकीहरुलाई नै सोधे यसलाई कसरी प्रमाणित गर्छन् ? मेरी दिदी अहिलेसम्म त्यो होटेलमा गए नगएको उनीहरुले बुझ्न समेत चाहेनन् ।’ आफ्नो प्रतिवेदनमा दावी गरेको कुरालाई सार्वजनिक रुपमा पुष्टि गर्नु पर्ने नेपाल मानव अधिकार संगठन र यसका पदाधिकारी इन्द्र अर्याल, महामुनिश्वर आचार्य र त्रिभुवन भट्टको दायित्व रहेको उनको भनाई छ ।
रोशनीले भनिन्,‘उनीहरुको प्रतिवेदन सार्वजनिक भएपछि हामी वहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन विताउन वाध्य भएका छौं । हाम्रो पढाई छुटेको छ, सामाजिक वेइज्जति भएको छ । आफन्त र विद्यालयका साथीहरुले हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रुपमा हेर्ने गर्न थालेको छन। उक्त झुटो प्रतिवदेनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति हुनुपर्छ । उनीहरुको प्रतिवेदनले गर्दा हामीमाथी परेको शारिरिक, मानसिक र सामाजिक क्षतिको क्षति पूर्ति दिलाइ दिन आम सञ्चार माध्यम, पत्रकार दाजुदिदी, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु समक्ष हार्दीक अनुरोध गर्दछु ।’
पत्रकार सम्मेलनको सुरुमै उनले आफूहरु घट्नाक्रम बताउनको लागि नभएर आफ्नो कुरा राख्नको लागि आएको स्पष्ट पारेकी थिईन् । उनले भनिन्,‘ईन्द्र अर्यालले काठमाडौको एक घरको कुनामा बसेर प्रतिवेदन लेखेका हुन् । फेस–टु–फेस कुरा गर्न हामीले आज उनलाई यही पत्रकार सम्मेलनमा बोलाएका थियौं । तर, उनी आएनन् । यदि उनी सत्य थिए भने उनी आउनुपर्दथ्यो । एकोहोरो प्रतिवेदन बनाउने काम भयो । अर्याल सही छन भने प्रमाण दिनुपर्यो ।’
पत्रकारले उक्त दिन निर्मला तपाईको घरमा आउँदा के–के कुरा भयो ? त्यो दिनको बारेमा केही बताईदिनुहोस भनेर सोधेपछि रोशनीले भनिन्,‘त्यो दिन निर्मला मेरो घरमा आएकी थिई । होमवर्क गरेर फर्किएकी थिई । उ आउँदा हातमा ग्रिज लागेको थियो । सावुन पानीले धो भनें । अनि हामीबीच पढाईसम्बन्धी कुरा भयो ।’ प्रहरीले अनुसन्धानका लागि भन्दै आफूहरुलाई दुईपटक पक्राउ गरेको सुनाउँदै उनले थपिन्,‘म ७ दिन र दिदी २० दिन हिरासतमा बस्यौं । प्रहरीले हामीमाथि अनेक तरहले अनुसन्धान गर्यो । कतिपय बेला आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो ।’
प्रहरीले आफूहरुको मोवाइलको कल डिटेलपनि चेक गरेको र एक महिनासम्म दिदीको मोवाइल प्रहरीको नियन्त्रणमै राखेको तर, कुनैपनि कोणबाट घटनामा आफूहरुको संलग्नता पुष्टि नभएपछि प्रहरीले छोडेको उनले स्पष्ट पारिन् । तर, प्रहरीले घट्नामा आफूहरुको संलग्नता पुष्टि हुने कुनै तथ्य फेला नपरेको भन्दै छोडे पनि समाज, राष्ट्रिय मिडिया र सामाजिक सञ्जालले आफूहरुलाई अपराधीको रुपमा चित्रित गर्न नछोडेको उनको गुनासो छ । अनुसन्धानको लागि काठमाडौंबाट अहिलेसम्म प्रहरीको ७ टोली कञ्चनपुर गैसकेको सुनाउँदै उनले आफूहरु दोषी भएको भए प्रहरीले किन प्रमाणित नगरेको त भन्दै प्रश्न गरिन् ।
कार्यक्रममा दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताईन् । उनले थपिन्,‘दोषी को हो भनेर राज्यले छानबिन गर्ने हो । यो सरकारको काम हो । ईन्द्रप्रसाद अर्यालले आफ्नो प्रतिवेदनमा लेखेका सबै कुरा झुटो छन् । उनले झुटो कुरा लेखेर हाम्रो बद्नाम गरे । एउटा कुरा पनि सत्य छैन । यदि उनले लेखेको कुरा प्रमाणित भए हामी जेल जान तयार छौं ।’बिना आधार र प्रमाण, र सत्य तथ्य नबुझी एकपक्षीय रुपमा आफूहरुको चरित्र हत्या गर्ने प्रतिवेदन ल्याएको नेपाल मानव अधिकार संगठनविरुद्ध अदालत जाने समेत उनले चेतावनी दिईन् ।
साँचो कुरा के हो ? त भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्,‘कञ्चनपुरमा गएर सोध्नुहोस । छरछिमेकलाई थाहा हुन्छ ।’ आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्,‘निर्मला हाम्रो घरमा एक÷दुई चोटी आएकी हुन् । तर, म राम्रोसँग चिन्दिन् ।’
त्यस्तै कार्यक्रममा रोशनी र बबिताकी आमा ईन्द्रा बमले यो प्रकरणमा आफ्ना छोरीहरुको नाम मुछेर चरित्र हत्या गर्ने काम भएको गुनासो पोखिन् । उनले भनिन्,‘निर्मला पनि मेरी छोरी हुन् । उनले न्याय पाउनुपर्छ । दोषी पत्ता लगाउनुपर्छ ।’ कार्यक्रममा सामाजिक अभियन्ता सावित्री सुवेदीले बम दिदिबहीनीहरुलाई मानव अधिकारवादीहरुले यो प्रकरणमा मुछेर चरित्र हत्या गर्न खोजेको भन्दै सत्य, तथ्य छानबिन गर्नुपर्ने माग गरिन् । उनले भनिन्,‘मानव अधिकारकर्मीहरुले जिउँदा निर्मला बम दिदि बहिनीलाई न्याय दिनुपर्छ ।’