चिकित्सक संघले सरकारलाई भन्यो –चिकित्सक सडकमा आएरै यसअघिका राजनीतिक परिवर्तन सफल भए
रिले अनसन सुरु
प्रकाशित २०७५ माघ १४ सोमबार
545
Shares
काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा गोविन्द केसीका माग तत्काल पूरा गर्न माग गरेको छ ।
संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदासमेत सरकारले कुनै चासो नराखेपछि संघको नेतृत्वमा डा केसीको जीवनरक्षाको लागि रिले अनसन बस्न लागेको छ ।
चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले भने, ‘उहाँको माग पूरा गर्न सरकारले कुनै चासो देखाएन अनि हामीले रक्षा गर्न पहल नगरे कसले गर्ने ?’
‘हामीले बन्द गरेका छैनौं । बिरामीलाई उपचार नगर्ने पक्षमा छैनौं । तर सरकारले दुई तीनसम्म पनि चासो राखेन भने ओपीडी ठप्प पार्न सक्छौं ।’ डा श्रेष्ठले भने ।
‘यो सरकारले जतिसुकै चिकित्सकले आन्दोलन गर्न पाइँदैन भने पनि सरकारलाई भन्न चाहन्छौं कि ०४६ देखि २०६२–६३ सालको आन्दोलनमा चिकित्सक सडकमा निस्केरै आन्दोलन सफल भएको थियो ।’ उनले थप चेतावनी दिए ।
डा केसी आमरण अनसनमा बसेको सोमबार २० दिन भइसकेको छ । उनको स्वास्थ्य कमजोर बनिसकेको छ । सरकारी तवरबाट अनसन तोडाउने कुनै पहल हुन सकेको छैन ।
कुनै पनि सरकारी अधिकारी अहिलेसम्म डा केसीलाई भेट्न गएको छैन । मन्त्रीहरुले भने डा केसीका माग पूरा भइसकेकाले अनसन बस्नुको अर्थ नभएको बताइरहेका छन् ।
चिकित्सक संघमात्र हैन सिंगो प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससमेत डा केसीको सहमति विपरितको चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएकामा आन्दोलित छन् ।
चिकित्सक संघको नेतृत्वमा सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुलुकभरका अस्पतालमा रिले अनसन हुनेछ । यसले बिरामीलाई असर पर्ने भए पनि सरकारले कुनै कदम चालेको छैन ।