जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत कालीकोट, मुगु, डोल्पा र हुम्लामा लगातारको हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको छ । मौसममा आएको परिर्वतनले गत आइबारदेखि नियमित हिमपातले हवाई तथा स्थलमार्ग यातायात सेवा प्रभावित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माका अनुसार मौसम अनुकूलता नभएका कारण नियमित हवाई सेवा प्रभावित भएको छ ।
कर्णाली यातायात प्रालि जुम्लाका मीनबहादुर थापाले नियमित हिमपातका कारण कर्णाली राजमार्ग प्रभावित भएको बताए । एकसातादेखि कर्णाली राजमार्गमा नियमित रूपमा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक माधव रावतका अनुसार हिमपातले कर्णाली राजमार्ग प्रभावित छ । “नियमित हिमपात भइरहेको छ, सम्भावित दुर्घटनाबाट जोगिनका लागि सवारीसधान जाँचमा कडाइ गरिएको छ”, उनले भने। एक सातादेखि दुवै मार्ग प्रभावित भएपछि जिल्ला बाहिर जाने मानिसहरु समस्यामा रहेका स्थानीयवासी सिंहमान विकले बताए । उपचार हुन नसकेका बिरामी पनि प्रभावित भएको उनको भनाइ छ ।