को हुन् चिकित्सक संघका अध्यक्ष श्रेष्ठलाई कार्यक्रम नगर्न धम्काउनेहरु?
प्रकाशित २०७५ माघ १३ आइतबार
624
Shares
काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा उनको माग सम्बोधनका लागि दबाब दिन डाक्टरहरुले गरिरहेको तयारी रोक्न सत्तारुढ दलका नेता कार्यकर्ता समेत सक्रिय रहेको खुलेको छ । डा. केसीको जीवनरक्षाका लागि अबको रणनीति तय गर्न डाक्टरहरुको संगठन नेपाल चिकित्सक संघ, रेजिडेन्ट डक्टर्स एशोशिएशन लगायतले दिउँसोका लागि त्रिवि शिक्षण अस्पतालमा छलफल कार्यक्रम राखेका छन् ।
छलफलमा काठमाडौंमा उपलब्ध डाक्टरहरुका विशेष प्रतिनिधिहरुलाई डाकिएको छ । डाक्टरहरुले भावी रणनीति तय गर्न छलफल आयोजना गरेको कार्यक्रम विफल पार्न प्रहरीसँगै, नेकपाका कार्यकर्ता समेत परिचालन गरेको पाइएको छ । त्रिवि शिक्षण अस्पतालमा आजको लागि आयोजना गरिएको छलफल कार्यक्रम नगर्न नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठलाई महाराजगंज बृत्तका डीएसपी फडिन्द्र प्रसाईँले हिजै अपरान्ह फोन गरेर घुमाउरो भाषामा धम्की दिएका हुन् ।
डीएसपी प्रसाइँले फोन गरेर “यो क्षेत्रको कमाण्ड मेरो अण्डरमा छ, अस्पतालमा छलफल गर्न पाइँदैन, त्यसैले अस्पतालमा छलफल नगर्नू होला” भनेर चेतावनीको भाषा प्रयोग गरेको डा श्रेष्ठले हाम्राकुरालाई जानकारी दिएका छन्। प्रसाइँले तपाईंहरुले कार्यक्रम गरे, तपाईंहरुको विपक्षमा रहेको समूहले समेत कार्यक्रम राख्ने र भिडन्तको अबस्था आउन सक्ने भनेर घुमाउरो भाषामा दबाब दिएको समेत डा श्रेष्ठको भनाइ छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले कार्यक्रम नगर्न दबाब दिइरहेकै बेला, केही व्यक्तिको झुण्ड शिक्षण अस्पताल आएर आफुहरुलाई कार्यक्रम नगर्न चेतावनी नै दिएको रेजिडेन्ट डाक्टरहरुले बताएका छन् । त्यो समूहले आफुहरुले भन्दा भन्दै कार्यक्रम गरेमा अस्पतालमा जे पनि हुन सक्ने भन्दै रेजिडेन्टहरुलाई थर्काएर गएको छ ।
अब के गर्ने त? यो प्रश्नमा डा. श्रेष्ठले, आफुहरु आन्दोलनमा होमिइसकेको र डा केसीको जीवन रक्षाका साथै उनको माग सम्बोधन गराउनका लागि जस्तोसुकै अबस्थाको सामना गर्न तयार रहेकोले, कसैको डर धम्की सामु नझुक्ने जवाफ दिए । उनले भने, “डा केसीको जीवन र उनको माग हाम्रो बटम लाइन् हो, कसैको धम्की सामु अब डाक्टरहरु झुक्नेवाला छैनन्” ।