२५ बर्षमा भारतले ७ सय २२ एम्बुलेन्स र १ सय ४२ बस नेपाललाई प्रदान
प्रकाशित २०७५ माघ १२ शनिबार
1.1k
Shares
काठमाडौं। नेपालस्थित भारतीय राजदूतावासले २६ जनवरी शनिवारका दिन भारतको ७० औं गणतन्त्र दिवस मनाएको छ। गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।
झन्डोत्तोलन समारोहमा १५ सय भन्दा बढी भारतीय नागरिक तथा भारतका मित्रहरुको उपस्थिति थियो। केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीहरुले भारतीय देशभक्ति गीतहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा राजदूत पुरीले २ वीर नारी, ९ एकल महिला र ३ मृतक सैनिकको निकटतम नातेदारलाई ७ करोड २६ लाख नगद तथा कम्मल वितरण गरि सम्मान गरेका थिए। भूपू सैनिकलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउँदै दूतावासले भूपू–२०१८ पत्रिकाको विमोचन गरेको छ। सो पत्रिकामा भारत सरकारद्वारा भारतीय सेनामा कार्यरत नेपाली भूपू सैनिकका लागि गरिएका कल्याणकारी पहलबारे चर्चा गरिएको छ।
गणतन्त्र दिवसको अवसरमा राजदूत पुरीले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामुलक संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान गरे। सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७ सय २२ एम्बुलेन्स र १ सय ४२ बस प्रदान गरिसकेको छ।
राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउनका निमित्त नेपालका ५४ शैक्षिक संस्था तथा पुस्तकालयहरुलाई पाठ्यपुस्तक अनुदान स्वरूप प्रदान गर्ने पनि घोषणा गरेको छ।
शनिवार राजदूत पुरीले इंडिया हाउसमा स्वागत समारोहको आयोजना समेत गरेका थिए। नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन सो समारोहको मुख्य अतिथि थिए।
समारोहमा भारत–नेपाल कुटनीतिक सम्बन्धको ७ दशक पुगेको अवसरमा नेपालका उपराष्ट्रपति तथा राजदूतले संयुक्त रुपमा ‘‘भारत र नेपाल–कुटनीतिक सम्बन्धको ७० वर्ष’’ नामक पुस्तकको विमोचन गरेका थिए। समारोहमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा चर्चित व्यक्तित्व लगायत १ हजार भन्दा बढी विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।