हुन्न भन्ने मान्य सदस्यको बहुमत हुँदाहुँदै चिकित्सा विधेयक पास !
प्रकाशित २०७५ माघ ११ शुक्रबार
692
Shares
काठमाडौं । सत्ता पक्षको लहैलहैमा लागेर जवर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन लाग्दा सभामुख कृष्णबहादुर महराले गम्भीर त्रुटी गरेका छन् । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदमा राष्ट्रममा आएर विरोध गरिरहेको थियो । सोही समयमा सभामुख अलिक आत्तिएको स्वरमा संसदमा जवर्जस्ती विधेयक पेश गर्न दिने तयारीमा पुगे ।
उनले काँग्रेस सांसदहरुको चर्काे आवाजकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को अंग बनोस् भनि संसदमा निर्णयार्थ पेश गरे । उनले निर्णयार्थ पेश गरेपछि हुन्छ भन्ने तथा हुन्न भन्ने सदस्यहरुलाई हुन्छ र हुन्न भन्न आग्रह गरेका थिए । पछि सांसदहरुमध्ये बहुमत सदस्यले नै हुन्छ भन्नेमा हात उठाएका थिए । तर, सभामुख महराले हुन्न भन्ने सदस्यहरुको बहुमत रहेकोले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको अंग बनेको घोषणा गरे ।
सांसदहरुले जेमा हात उठाएको भएपनि सभामुखले हुन्न भन्ने सांसदहरुको बहुमत रहँदा रहँदै कसरी विधेयकलाई कानून बनाए भन्ने विषयमा गम्भीर बहस सुरु भएको छ । नेपाली काँग्रेसले कम्युनिष्ट सरकार ५ प्रतिशत स्वार्थी समूहको अगाडि विकेर विधेयक पारित गरेको आरोप लगाईरहेको छ भने संसदमा उसले विरोध समेत गरिरहेको छ । यस्तो बेलामा सभामुखबाट यति ठूलो गल्ती हुनुले उनको अक्षमतालाई स्पष्ट गरेको छ ।
यस अघि पनि सभामुख महराको अक्षमताको विषयमा पटक पटक आवाज उठ्दै आएको छ । उनले संसदमा सत्तापक्षलाई समयमा बोल्न नदिएको, विपक्षीको विरोधलाई बेवास्ता गरेको जस्ता विषयमा मात्रै नभएर संसद बैठक सञ्चालनमा समेत उनले कमजोरी देखाउँदै आएको भनेर उनको तीब्र आलोचना हुँदै आएको छ । काँग्रेसले जालझेल पूर्ण ढंगले सभामुखद्वारा शुक्रबारको संसद बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गराएको आरोप समेत लगाएको छ ।