arrow

के गर्न चाहन्छन् प्रधानमन्त्री ओली नेपाली जनताका लागि ?

logo
तीर्थप्रसाद भट्टराई 
प्रकाशित २०७५ माघ १० बिहिबार
kp-oli111.jpg

डाभोस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले आफूले नेपाली जनताका निम्ति प्रजातन्त्रका लागि आधा शताब्दी निरन्तर सङ्घर्ष गरेको र वर्षौँवर्ष कारागारमा कठिनतम समय बिताएको स्पष्ट गरे ।
 
“नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले लोकतान्त्रिक वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको छ”, उनले भने । प्रधानमन्त्रीले नेपाली लोकतन्त्रमा राजनीतिक अधिकार तथा स्वतन्त्रता व्यापक रहेको पनि बताए ।
 
उक्त सत्र सत्ताधारी राजनीतिक उच्च वर्गलाई निराश पार्दै विश्वभरका मतदाता सुधार र सुस्पष्ट विचार दिने चाहना राखी राजनीतिक परिवर्तन गर्ने नयाँ राजनीतिक पुस्तातर्फ फर्केको र समसामयिक विश्व राजनीति तथा उनीहरुले लोकतन्त्रको भविष्यलाई कसरी निर्धारण गर्दैछन् भन्ने मूल विषयमा आधारित थियो । 

प्रधानमन्त्री ओलीले नेपालले सन् २०१५ (विसं २०७२) मा लोकतान्त्रिक संविधान जारी गरेको र त्यो पूर्णतया प्रजातान्त्रिक एवं प्रगातिशील रहेको बताउँदै शक्ति पृथक्कीकरण, राज्य सञ्चालनमा नियन्त्रण तथा सन्तुलन, स्वतन्त्र न्यायपालिका र विधिको शासनमा रहेर वर्तमान सरकार विकास–निर्माणको मार्गमा अग्रसर भएको जानकारी दिए ।
 
दुई सदनात्मक संसद् तथा प्रधानमन्त्रीप्रणालीयुक्त नेपाल कानूनी राज्यको सुनिश्चितता, विधि र प्रक्रियामा दृढ अठोट छ भन्दै प्रधानमन्त्रीले सरकारले केन्द्रीयकरण गर्ने कुनै भावना नराखेको स्पष्ट गरे । उनले आर्थिक उन्नयन र दिगो विकासका खातिर बहानाबाजी गर्नेहरुका लागि अब माफी दिने कुनै व्यवस्था नभएको उल्लेख गरे ।
 
तीन वटै तहको निर्वाचन हालको सत्तारुढ दलले नगराएको र चुनाव गराउनेहरु हाल प्रतिपक्षमा रहेको जानकारी दिँदै उनले ती सबै निर्वाचन शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, स्वच्छ तथा निष्पक्ष ढङ्गले भएको बताए । 

नेपाली जनताको परिवर्तनको चाहना साकार तुल्याउनमा नै सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को लक्ष्य साकार पार्न सुशासन कायम गर्दै आर्थिक विकासमा नै सरकारले अर्जुनदृष्टि दिएको प्रष्टयाए । 

प्रधानमन्त्री ओलीले लोकतन्त्र जनताले नै आफ्ना लागि बनाएको सुसभ्य शासन प्रणाली भएको बताउँदै नेपालमा पनि जनताले निरङ्कुश प्रणालीलाई हटाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति स्थापना गरेको जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ