डा केसीलाई बेवास्ता गर्दै जस्ताको तस्तै चिकित्सा विधेयक पास गर्न निर्देशन दिएर ओली स्वीट्जरल्याण्डमा
सत्तापक्ष विधेयक पास गर्ने रणनीतिमा, प्रतिपक्ष संसद अवरुद्ध गर्ने पक्षमा, डा केसी मर्न तयार
प्रकाशित २०७५ माघ ७ सोमबार
500
Shares
काठमाडौं । सत्याग्रही प्राडा गोविन्द केसीका मागलाई बेवास्ता गर्दै संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै पारित गर्न निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड उडेका छन् ।
गत साउनमा १५ औं आमरण अनसन तोडाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा निकै सौहार्द तरिकाले वार्ता गर्दै आफू पनि डा केसीको लाइनमा भएको आश्वासन बाँडेर दंग पारेका ओली त्यसउप्रान्त क्रुर देखिँदै अन्तमा धोका दिएर संसदमा प्रस्तुत विधेयक पारित गर्न निर्देशन दिँदै स्वीट्जरल्याण्ड गएका हुन् ।
संसदमा सोमबार के हुन्छ ?
सत्ताधारी चिकित्सा शिक्षा विधेयक पारित गर्ने लक्ष्यमा
संसद सचिवालयका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ ।
शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको धारणा बमोजिम विधेयक जस्ताको तस्तै पारित गर्ने योजना रहेको नेकपाका एक सांसदले भने ।
उनका अनुसार प्रधानमन्त्री ओलीले विधेयक जस्ताको तस्तै पारित गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिइसकेका छन् ।
नेकपाका सांसदहरु संसारमा कहीं पनि कसैका मात्र सत्प्रतिशत पारित नहुने भन्दै डा गोविन्द केसीले राखेका सबैजसो माग पूरा भएको बताउँदै आएका छन् ।
संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डा केसीका ९५ प्रतिशत माग पूरा भएको दावी गरेका छन् ।
के गर्छ प्रतिपक्षी काँग्रेस ?
संसदमा सत्ताधारीले चिकित्सा विधेयक जसरी पनि पारित गर्ने बताइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने संसद् बैठक अवरोध गर्ने तयारीमा रहेको छ ।
कांग्रेसले दुई वटा माग लिएर संसद बैठक अवरुद्ध गर्न लागेको जनाएको छ । पहिलो विषयका रुपमा डा गोविन्द केसीसँगको सम्झौता अक्षरस कार्यान्वयन रहेको छ ।
त्यसैगरी दोस्रो मागका रुपमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषयमा विरोध गर्ने रहेको छ ।
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार दुई अस्पताल केन्द्रबाट हटाउने विषय र डा. गोविन्द केसीको मागलाई काँग्रेसले उठाउने छ, संसद बैठक अवरुद्ध गर्नेछ ।
के का लागि गए ओली स्वीट्जरल्याण्ड ?
कुनै पनि व्यक्ति १६ पटकसम्म आमरण अनसन बस्दैन । १५ औं चरणको आन्दोलनमा उनलाई निकै अपमान गरिएको थियो ।
२७ दिन अनसन बस्नुपर्यो । अनसन सकेपछि उनले डा केसीलाई भेट्न खोजे । आराम गरेपछि मात्र भेट्ने कुरा भयो । त्यसपछि भेट भयो । निकै सौहार्द तरिकाले ।
यतिसम्म कि ओली र केसी पथ नै एउटै भएजस्तो । तर त्यही बोलीको मात्र एउटै पथलाई लत्याएर ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति त्यसतर्फ हानिएका हुन् ।
यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन् ।
सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालका प्रधानमन्त्रीले पहिलो पटक भाग लिन लागेका हुन् ।
१६ जनाको डफ्फाको नेतृत्व गर्दै गएका ओली माघ १२ स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मर्न तयार छन् डा केसी
डा गोविन्द केसीले भनेका छन् – म मर्न तयार छु तर विधेयकलाई तलमाथि हुन दिन्न ।
उनी १३ दिनदेखि आमरण अनसनमा बसिरहेका छन् । उनले आइतबारमात्र आफू आइसीयुमा बसेर उपचार गर्दा सर्वसाधारणलाई असर पर्ने भन्दै गम्भीर विरामी हुँदा पनि सामान्य वार्डमा सार्न आग्रह गरे ।
उनी सामान्य वार्डमा छन् । वार्डमा सरेपछि आइतबार दिउँसो उनले पत्रकारहरुसंग भने ‘म माग पूरा नहुन्जेल आमरण अनसन तोड्दिन बरु मर्न तयार छु ।’
चिकित्सा शिक्षा क्षेत्रको बेथिति अहिलेको हैन । त्यसैले त उनी १६ पटक आमरण अनसन बसिसकेका छन् ।
उनलाई सरकारले धोका दिएकै कारण यसपटक इलाममा पुगेर पुस २५ गते आमरण अनसन बसेका थिए । तर अचानक स्वास्थ्यमा खरावी आएपछि धेरैको अनुरोधमा उनी आइसीयुमा भर्न हुन राजी भए । र पनि आमरण अनसन नतोड्ने बताउँदै आएका छन् ।
ओलीले किन दिए धोका ?
ओलीलाई पार्टीभित्रैबाट दवाव छ । बिचौलियाको दवाव छ । पार्टीका थुप्रै नेताहरुले निजी अस्पतालमा लगानी गरेका छन् । त्यो लगानी उठाउनु छ ।
उनी निकट एक स्रोत भन्छ – ‘उहाँलाई चिन्ता त देश र जनताको छ तर के गर्ने उहाँले तलमाथि गर्नासाथ पार्टीभित्रै उहाँलाई समस्या छ ।’
चुनाव जित्नेबेलामा राष्ट्रवादी र जनवादी भएर जित्ने तर व्यवहारमा देखाउने बेलामा पार्टी र कुर्सीको मोहलाई त्याग्न नसक्ने । ओलीले यसरी नै धोका दिएका छन् डा केसीलाई ।
डा केसीसंग ओलीले १६ औं चरणको आन्दोलन बस्ने अवस्था आउन नदिने विश्वास दिलाएका ओलीले उनलाई धोका दिए ।
धोका दिएको उनलाई आभाष भएको छैन । उल्टै प्रतिपक्षी दलले उचालेको आरोप लगाएका छन् ।
गत शुक्रबार त ओलीले अति नै गरे । केसीलाई व्यक्तिगत रूपमा भेटेर सम्झौता अक्षरशः पालना गर्ने प्रतिबद्धता गरेका ओलीले शुक्रबार संसदलाई जवाफ दिने क्रममा ‘संसदमा बहुमत छ भन्दैमा प्रधानमन्त्री वा सरकारले संसदको मर्यादा र गरिमालाई थिचोमिचो गर्न सक्दैन’ भनेर पन्छिए ।
उनले भने, ‘म संसदलाई आदेश दिन सक्दिनँ । संसदको आदेश पालना गर्छु । मेरो आग्रह छ, सरकारले गरेको सहमति संसदले पालना गरिदिओस् । सरकारले गरेका विधेयक सदनमा पेस गरेपछि संसदले जे ल्यायो, त्यो पास गर्दैन । विधि निर्माणको सवालमा संसदलाई बाध्य पार्न सकिँदैन ।’
अर्थात् ओलीले धोका दिए ।
आफैले गरेको सम्झौता हैन भने
संसदमा बोल्ने क्रममा ओलीले पाँच महिनाअघिको त्यो सम्झौता ’अन्तिम सत्य नभएको’ बताए । उनले भने ’सम्झौता तत्कालीन परिस्थितिको उपज र आवश्यकता हो ।’
अर्थात् त्यतिबेला आफू बच्नका लागि गरेको ओलीको नाटक थियो । २७ दिन आमरण अनसन बस्दा कुनै पनि बेला डा केसीको ज्यान तलमाथि पर्न सक्ने देखेर ओलीले बनाएको त्यो ड्रामेटिक खेल थियो ।
डाइरेक्टर ओली थिए अनि पात्रहरु सुवास नेम्वाङ र विष्णु पौडेल । ओलीको निर्देशानुसार उनीहरुले डा केसीको आमरण अनसन तोडाएका थिए ।
के यही रवैयाले सरकारका आगामी दिन सफल र विश्वासयुक्त बन्न सक्लान् ?