हेटौँडा । पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी प्रहरीले आज दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटौंडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् ।
आरोपीद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आरोपीसँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस