काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । काठमाण्डौंबाट झापाको पशुपतिनगरका लागि छुटेर जाँदै गरेको ना ४ ख ९७५४ नं. को बसमा ना ५ ख ७१२९ नं. को ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
आज बिहान २ बजेतिर बस बिग्रिएपछि रोकेर मर्मत गरिरहेका बेला ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा बसका यात्रु ईलामका २७ वर्षीय गोबिन्द साउदेन , सुनसरीको ईटहरी उपमहानगरपालिका १६ का ३० वर्षीय विनिता राई र ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका १९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाँ रहेका छन् ।
उनीहरु तीनै जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । दुर्घटनामा नुवाकोटको विदुर नगरपालिका–१३ का ३५ वर्षीय दावा तामाङ, बसका चालक झापाको अर्जुनधारा नगरपालिका ६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र बसका सह–चालक उदयपुरको कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी घाईते भएका छन् ।
उनीहरुमध्ये तामाङलाई थप उपचारका लागि बी एण्ड बी अस्पताल काठमाण्डौं रेफर गरिएको छ भने बसका चालकको शुभ स्वस्तीक अस्पताल बर्दिवास र सहचालकको टेक्सास अस्पताल लालबन्दीमा उपचार भैरहेको छ । दुर्घटनालगत्तै ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवास, ईलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी फुल्जोरबाट प्रहरी टोली उद्धारका लागि घटनस्थलमा पुगेको थियो ।
पूर्व–पश्चिम राजमार्गको फूल्जोर चौकबाट करिव दुई किलोमिटर पूर्वतर्फ भएको सो दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीका प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए