काँग्रेसले सङ्गठन सुदृढीकरण अभियान शुरु गर्ने, 'प्रचार गर्न नसक्दा हार भयो'
प्रकाशित २०७५ माघ ५ शनिबार
722
Shares
चितवन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने बताए। नेपाल शिक्षक सङ्घ भरतपुर महानगर कार्यसमितिको प्रथमसभालाई शनिबार चितवनमा सम्बोधन गर्दै उनले महासमिति बैठकपछिको एकतालाई तल्लो तहसम्म पु¥याउनका लागि सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।
अभियानअन्तर्गत सदस्यता वितरण र प्रशिक्षण कार्यक्रम गरिने बताउँदै उनले यसले गर्दा सङ्गठन चलायमान हुने धारणा व्यक्त गरे । सहमहामन्त्री डा महतले काङ्ग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको उल्लेख गर्दै कामको प्रचारलाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रह गरे ।
शिक्षकमा अहिले ठूलो अन्यौलता छाएको बताउँदै उनले क्षमतावान् शिक्षक पनि राजनीतिक प्रतिशोधको शिकार बन्ने खतरा बढेकाले पार्टीले त्यस्तो हुन नदिइने धारणा व्यक्त गरे ।
नेपाल शिक्षक सङ्घ भरतपुर महानगरपालिका संयोजक खगराज कँडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल शिक्षक सङ्घका उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, निर्वतमान अध्यक्ष टेकप्रसाद गुरुङ, नेपाल शिक्षक महासङ्घका सचिव ध्रुव पोख्रेल, नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष डा हरि कँडेललगायतले शिक्षा क्षेत्रको विविध पक्षमाथि प्रकाश पारे ।