पाँचथर । फाइनलमा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै रूस्लान दशौं फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि झापा ११ ले उचालेको छ। पाँचथरको फिदिममा सोमबार भएको खेलमा उपाधिका लागि झापाले आर्मीलाई २–१ ले पराजित गर्दै बिजेता बन्न सफल भएको हो ।
झापाको जीतमा पुजन उपरकोटीले खेलको २३ औँ र ८३ औँ मिनेटमा २ गोल गरेका थिए । आर्मीका लागि भने ७१ औँ मिनेटमा राजीब गुरुङले १ गोल फर्काए ।
विजेता भएसँगै झापाले नगद चारलाख र उपविजेता आर्मीले नगद दुई लाखसँगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत फाइनल खेलको म्यान अफ दि म्याच आर्मीका राजीब गुरुङले दश हजार रूपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी झापाका डिफेन्डर देबेन्द्र तामाङ भए । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक झापाका मनोज प्रधान, पुजन उपरकोटी उत्कृष्ट मिडफिल्डर, दिलेन लोक्ताम उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता कर्ण लिम्बू र उत्कृष्ट कोच परवेश कटुवाल हुन सफल भए ।
उत्कृष्ट डिफेन्डर आर्मीका युद्ध शाही र उदियमान खेलाडी आयोजक फिदिम स्पोर्टीङ क्लबका प्रविन जबेगू हुन सफल भए ।
सर्बाधिक गोलकर्ता कर्णले नगद १५ हजार प्राप्त गरेका छन् भने विभिन्न विद्यामा उत्कृष्ट भएका खेलाडीहरूले जनही नगद दश हजार रूपैयाँ प्राप्त गरेका छन् ।