‘स्वयम्भू क्षेत्रका पुजारी आवास गृह तथा विहार शिलान्यास’
प्रकाशित २०७५ पुष ३० सोमबार
234
Shares
काठमाडौँ ।‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार सोमबार शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब गर्न नदिइने बताए । रु १८ करोडको लागतमा १८ वटा भवन विहार एक वर्षभित्र पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइएको स्वयम्भू पुनःनिर्माण उपभोक्ता समितिका सभापति ईश्वर बुद्धाचार्यले जानकारी दिए।
पुरातात्विक सम्पदाका संरक्षणमार्फत नै नेपाललाई समृद्ध बनाउन सकिने प्रस्टयाउँदै अब बस्ने पुनःनिर्माण निर्देशक समितिको बैठकले उक्त सम्पदाको पुनःनिर्माणलाई थप गति दिने विश्वास व्यक्त गरे ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माण गर्न महानगर प्रतिबद्ध रहेको बताउँदै विभिन्न निकायले अवरोध सिर्जना गरेकाले पर्याप्त बजेट विनियोजन हुँदा पनि यसले गति लिन नसकेको बताए ।
काठमाडौं क्षेत्र नं ८ का सांसद रामवीर मानन्धरले विगतमा राजनीतिक स्थिरताका कारण पुनःनिर्माण अलपत्र परेको उल्लेख गर्दै दुई तिहाइसहितको स्थिर सरकारले पुनःनिर्माण र राष्ट्र निर्माणलाई प्राथमिकता दिएको बताए।
कामपा १५ नं वडाध्यक्ष ईश्वरमान डङ्गोलले पुरातात्विक संरचनामा कुनै फरक नपर्ने गरी पुनःनिर्माणको अभियान थालनी गरिएको जानकारी दिए। पुनःनिर्माण समितिका अध्यक्ष बुद्धाचार्यले स्थानीय निर्वाचनपछि स्वयम्भू क्षेत्रको पुनःनिर्माणले तीव्रता पाएको बताए। काठमाडौँ महानगरपालिकाको संयोजनमा स्वयम्भू क्षेत्रको पुनःनिर्माण भइरहेको छ ।