पोखरा । सुन्दा अचम्म लाग्छ, शिलामा कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको गुफाभित्रका दुई झरना छन् । जुन हिउँदमा सुक्दैन, वर्षात्मा पनि ठूलो हुँदैन ।
पृथ्वी राजमार्गअन्तर्गतको तनहुँ दुलेगौँडाबाट झण्डै १५ किलोमिटर पश्चिम लागेपछि शुक्ला गण्डकी नगरपालिका वडा नं १२ स्थित रमणीय घरेडी गाउँ पुगिन्छ । गाउँको पुछारमा सादी खोला पर्दछ जसले तनहँु र स्याङ्जा जिल्लालाई छुट्याएको छ । स्याङ्जातर्फको गाउँलाई सादीखोला गाउँ भनिन्छ ।
घरेडी गाउँको पुछारमा एउटा दुलोबाट छिरेपछि भित्र अचम्मको खुला ठाउँ भएको गुफा पुगिन्छ । गुफाभित्र दुई झरना छन् । प्रकृतिले नै कुँदेका अचम्मका टलक्क टल्किएका कला पनि त्यहाँ देखिन्छ । कहीँ हात्तीको शिर, कतै देवी देवताको मूर्तिका साथै कतै देवी देवता बसेर बैठक चलाएजस्तो भान पनि हुन्छ । गुफाका भित्तामा ठूलो सङ्ख्यामा चमेरा झुण्डिएर बसेको पाइन्छ ।
स्थानीयवासीका अनुसार करीब १०० वर्षअघि पाखामा चरिरहेको बाख्रा एक्कासि हराएछ । बाख्रा खोज्ने क्रममा जमीनभित्रबाट बाख्रा कराएको आवाज सुनियो । स्थानीयवासीले भित्र पसेर बाख्रा त ल्याए तर त्यसबखत गुफाको महत्व नबुझ्दा यसको खासै चर्चा भने हुन सकेन ।
गुफाप्रति चासो बढेपछि सन् २००० मा विदेशी भूगर्भविद्सहितको टोलीले गुफाको थप अध्ययन अनुसन्धान गरेपछि गुफाको नाम ‘मिलेनियम गुफा’ राखी प्रचारप्रसार गरियो । त्यसैबखत तनहुको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोड्ने मिलेनियम ट्रेक शुरुआत गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।
प्रचारसँगै स्वदेशी र विदेशी पर्यटक आउन थाले पनि भौतिक पूर्वाधार व्यवस्थापनको अभावका साथै त्यसयता देशमा जारी सशस्त्र द्वन्द्वले गुफाले अपेक्षित गति लिन नसकेको उनले बताए।
गुफाभित्र छिरिसकेपछि तल फराकिलो भाग देखिन्छ भने माथि साँघुरिँँदै गएको पाइन्छ । तल झरिसकेपछि त्यहाँबाट दुई वटा झरना एक साथ झरिरहेको देख्न सकिन्छ । मिलेनियम गुफा संरक्षण समितिका सचिव प्रेम गुरुङका अनुसार हिउँदमा नसुक्ने र वर्षायाममा पनि ठूलो नहुने यहाँको झरनाको पानी भूमिगतरुपमै बाहिर खोलामा निस्किने गरेको छ ।
गुफाको फेद ५० मिटर लामो र त्यति नै मिटरको उचाइमा रहेको उनले जानकारी दिए। भित्ताभरी झुुण्डिएका चमेराका साथै गुफाभित्र ड्रयागनको दाँत, हात्तिको शिर, देवीदेवता बैठक बसे जस्तो दृश्यलाई पर्यटकले अत्यन्त अभिरुचिका साथ अवलोकन गर्ने गरेको उनले जानकारी दिए ।
गुफा संरक्षणको प्रयास सन् २००० बाट शुरु गरिए पनि अझै अपेक्षित विकास हुन नसकेको सचिव गुरुङले जानकारी दिए। गाउँबाट गुफासम्म झर्ने स्थानमा बाटो अप्ठ्यारो भएपछि मिलेनियम ट्रेक व्यवस्थापन समितिको पहलमा ४९३ वटा सिंढी बनाइएको छ । माथिबाट तल झर्नुपर्ने भएकाले गुफा प्रवेश गर्ने प्वालबाट तल झर्नका लागि फलामको रेलिङसहितको भर्याङ राखिएको उनले जानकारी दिए ।
पृथ्वी राजमार्गको दुलेगौँडाबाट १५ किलोमिटर टाढा रहेको सो ठाउँमा जिपबाट यात्रा गर्नुपर्नेे र त्यहाँ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट प्युरी दोभान हुँदै पनि आउन सकिन्छ । मिलेनियम ट्रेकअन्तर्गत पर्ने यस गुफाको थप प्रचारप्रसार एवं विकास गर्ने लक्ष्यका साथ काम अघि बढाइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।
“मिलेनियम ट्रेकमा पदयात्राका लागि आउने पर्यटकका लागि यो गुफा महत्वपूर्ण दर्शनीय स्थल बनेको छ”, उनले भने, “रहस्यात्मक यो गुफासहित समग्र पदयात्रा मार्गको प्रवद्र्धन र विकासमा राज्यको आँखा पुग्नु अपरिहार्य छ ।”रासस