अबको ५ वर्षमा समृद्धिको खाका तय हुन्छ : मन्त्री विष्ट
रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन
सीता डोटेल,
प्रकाशित २०७५ पुष २८ शनिबार
574
Shares
पाल्पा । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि हरेक तहमा संयोजक तोकेर तीब्रताका साथ कार्यान्वयनमा लैजाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् । पाल्पाको रामपुरमा शुक्रबारदेखि शुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री विष्टले इतिहासमै पहिलो पटक ३ तहको सरकारको अभ्यास भैरहेकाले सामाजिक सुरक्षा कार्यक्रम पनि स्थानीय तह केन्द्रीत गराउन खोजिएको बताएका हुन् ।
उनले नेपाली जनताले नेपालभित्रै रोजगारी पाउन् भनेर नै सरकारले विभिन्न कार्यक्रम ल्याएको बताउँदै अबको ५ बर्षमा समृद्द नेपालको खाका तयार गरिसक्नेमा जोड दिए। ३५ वर्षअघि रामपुरमा आएको स्मरण गर्दै मन्त्री विष्टले भौगोलिक सुन्दरताले दिएको रामपुर उपत्यकामा औधोगिक बिकास गरि हजारौं युवालाई रोजगार दिन सकिने बताए। रामपुरबाट बाहिरी राजमार्ग निस्कने बाटो साघुरो र कच्ची भएको तर्फ अंकित गर्दै उहाले सरकारको प्रतिनिधिको हैसियतले बाटो स्तर उन्नतिका लागि तत्काल पहल गर्ने बताए।
आउँदो माघ ८ गतेसम्म चल्ने महोत्सवका अबसरमा प्रदेश सांसदहरु युवराज खनाल, नारायण आचार्य, पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बोल्दै रामपुरको बिकासका लागि महोत्सव महत्वपूर्ण हुने बताए। उद्योग वाणिज्य संघको भवन निर्माणमा आर्थिक सहयोग संकलन गर्ने र कालीगण्डकी उपत्यकाको पहिचानको उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
मेला अवधिभर १ लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने र ८ देखि१० करोड बराबरको कारोबार गर्ने संघले लक्ष्य लिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए । मेलामा व्यापारिक, स्थानीय उत्पादन तथा कला संस्कृति जनाउने विभिन्न २ सय ५० स्टल रहेको संयोजक दोबराज तिवारीले बताए । मेलामा स्थानीय मगरी, नेवारी, दरै समुदायको मौलिकपन झल्कने खाना,खाजा तथा स्टल रहेको छ ।
मेलाको पहिलो दिन कलाकार बद्री पङ्गेनी, माधब भण्डारी लगायतका कलाकारले प्रस्तुति देखाएका थिए । मेलामा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति रहने साँस्कृतिक संयोजक पुरुषोत्तम केसीले बताए। महोत्सवमा दोस्रो रामपुर डान्स आइडल, भारतका ४ र पुलिस, शसस्त्र, सैनिक सहभागी हुने इन्डो भलिवल प्रतियोगीता सहित डवल्स व्याडमिन्टन प्रतियोगीता राखिएको छ। मेलालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षागार्ड तथा स्वयंसेवक परिचालन गरिएको छ ।
मेलामा राम्दीदेखि केलादीधाम र केलादीधामदेखि पुट्टारघाटसम्म कालीगण्डकीमा जलयात्रा, रामपूर्व आसपासका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको हेलिकप्टरबाट अवलोकन गर्ने व्यवस्था, प्याराग्लाईडिङ् उडान मेलाका मुख्य आकर्षणका रुपमा रहेको छ। महोत्सव उद्घाटन अघि रामपुरको नहरअफिस बगैचामा जम्मा भएर आमा समुह, महिला समुह, विभिन्न संघ संस्थाको ६१ संघ सस्थाका व्यानर सहित सहभागीतामा र्याली निकालिएको थियो ।
मेलामा रामपुर लगायत कालीगण्डकी वेशी क्षेत्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादनलाई प्राथमिकता दिएको मूल आयोजक समितिले जनाएको छ ।