दिपेन्द्र चौहान, बीरगञ्ज। पर्साको बीरगञ्जमा प्रहरीले चलाएको गोली लागेर सोमबार एकजनाको मृत्यु भएको छ। बीरगञ्ज भन्सार नजिक शंकराचार्य गेटनजिक प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको हो।
मारिएका व्यक्ति भारत रक्सौलका आशिस कुमार राम भएको बताइएको छ। प्रहरीमाथि आक्रमण गर्न जाने क्रममा उनलाई प्रहरीले प्रहार गरेको गोली लागेको थियो। भारतका विभिन्न भागबाट प्रदर्शनमा आएका कारण पनि को घाइते भए कस्को मृत्यु भएको स्वयं प्रदर्शनकारीहरुले बताउन सकेका छैनन्। घाइते भएका अर्का व्यक्ति पनि भारतीय रहेको बताइएको छ।
प्रहरीसँगको झडपमा अन्य ६ जना प्रदर्शनकारी पनि घाइते भएका छन्। सोमबार बिहान सुरक्षाकर्मीले बल प्रयोग गरी खुलाएको बीरगञ्ज नाकामा मधेसी मोर्चाका कार्यकर्ताले फेरि अवरोध गरेका थिए।
प्रहरीले बिहान झिस्मिसेमै बल प्रयोग गरि प्रदर्शनकारीहरुलाई हटाएर रक्सौल नाका सुचारु गरेको थियो। तर, मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन र भारतीय प्रहरीको असहयोगका कारण वीरगन्ज नाका फेरि ठप्प बनेको छ।
मोर्चाका कार्यकर्ताहरुले रक्सौल भन्सारतर्फ जाने सबै चोकहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। पर्साभर प्रदर्शन भइरहेको बताइएको छ। वार्ता भइरहेको बेला भारतीय गाडीलाई छोडेर अति भक्ति गर्दा समस्या झन बढेको बुझाइ बीरगञ्जमा व्याप्त छ।
यसैबीच प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि स्थानिय प्रसासनले सोमबार ३ वजेदेखि लागू हुनेगरि कर्फ्यू लगाएको छ।