arrow

नेपाली काँग्रेसको महाधिवेशन स्थलको 'ह्याट्रिक'

११औ २०६२ भदौ १४-१७ काठमाडौ, १२औ २०६७ असोज १-५ काठमाडौ र १३औँ फागुन २०-२३ काठमाडौ

logo
विष्णु नेपाल,
प्रकाशित २०७२ फागुन १९ बुधबार
congress-party-office-1.jpg.jpeg
काठमाडौँ। ‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको ऐतिहासिक १३‍‍औ महाधिवेशन काठमाडौँमा भोलिदेखि सुरु हुँदैछ। बाह्रौँ महाधिवेशन सम्पन्न भएको करिब पाँच वर्षपछि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नेपालको संविधान जारी भएपछि सुरु हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्नेछ।  १२औँ महाधिवेशन २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडौमा नै सम्पन्न भएको थियो। सो महाधिवेशनले पार्टी सभापतिमा सुशील कोइरालालाई निर्वाचित गरेको थियो।
 
स्थापनाको करिब सात दशक पूरा गर्न लाग्दासम्म अधिकांश समयावधि कोइराला परिवारबाट नेतृत्व हुँदै आएको काँग्रेसले यस अधिवेशनबाट नयाँ नेतृत्व हस्तान्तरण गर्नेछ। महाधिवेशनको अन्तिम तयारी हुँदै गर्दा माघ २६ सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि यो महाधिवेशनले कस्को र कस्तो नेतृत्व चयन गर्छ सर्वत्र चासोका रुपमा हेरिएको छ।
 
महाधिवेशनको उद्घाटन कार्यवाहक सभापति रामचन्द्र पौडेलले खुलामञ्चमा भव्य समारोहमा बिहीबार दिउँसो गर्ने छन्। महाधिवेशनको उद्घाटन पार्टी सभापतिबाट नै गरिने काँग्रेसको परम्परा रहिआएको छ। महाधिवेशन फागुन २३ गतेसम्म चल्नेछ। मञ्चको तयारी अन्तिम चरणमा पुगेको छ। देशका प्रमुख राजनीतिक दलका नेताहरुको समेत सहभागिता हुने सो उद्घाटन सत्रमा विदेशबाट आएका पाहुनाले समेत भाग लिनेछन्।
 
भारतको कलकत्ताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसका रुपमा पहिलो महाधिवेशन भएको काँग्रेस अनेकौ राजनीतिक घटनाको नेतृत्वकर्ता र साक्षी बन्दै काठमाडौँ महाधिवेशनको संस्करणसम्म आइपुगेको हो।
 
विसं २००६ चैत २७ गते चौथो महाधिवेशनका अवसरमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस एक भई नेपाली काँग्रेसको जन्म भएको हो। राणाशासन, पञ्चायती व्यवस्था र राजाको निरङ्कुश शासनविरुद्ध लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व गरेको काँग्रेसको यो महाधिवेशन सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधान जारी भएपछि भने पहिलो महाधिवेशन हो।
 
काँग्रेसले इतिहासका कालखण्डमा गरेका प्रजातान्त्रिक सङ्घर्ष, यसबाट प्राप्त उपलब्धि र भावी दिशाबोधलाई सम्बोधन गरी उपसभापति रामचन्द्र पौडेलले महाधिवेशनमा प्रस्तुत गर्न नीति तथा कार्यक्रम तयार गरेकाछन्। नीति तथा कार्यक्रममा परिवर्तित सन्दर्भमा काँग्रेसका मूल आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पुनः परिभाषित भएको छ। नीति तथा कार्यक्रमले पार्टी सङ्गठनलाई अझ बलियो तथा चुस्त बनाउँदै देशको आर्थिक, समाजिक कायापलट गर्ने उल्लेख भएको छ। साथै आफ्नै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनमा पार्टीले खेल्ने भूमिका बारेमा पनि संश्लेषण गरिएको छ।
 
महाधिवेशनको तयारीका क्रममा २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सकिएको छ। काँग्रेसको विधानानुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन्।
 
त्यसैगरी भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार  एक सय ८८ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। पछिल्लो पटक क्षेत्रीय अधिवेशन सकिएका र विवाद रहेका गरी १० जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ। महाधिवेशनमा भाग लिन प्रतिनिधि राजधानी आउने क्रम जारी रहेको छ।
 
यी प्रतिनिधिले समसामयिक राजनीतिक, सङ्गठन, विदेश लगायतका काँग्रेसले लिने नीति तथा कार्यक्रम पारित गर्नेछन्। उसो त नीतिमा भन्दा नेतृत्वमा बढी समय खर्चिने प्रतिनिधिले आगामी चार वर्षका लागि नयाँ नेतृत्वको भाग्योदयसमेत गरिदिनेछन्।
 
अघिल्लो महाधिवेशनले व्यापक रुपमा समावेशीकरण गरेको ८५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन पदाधिकारीसहित ६४ जनाको निर्वाचन हुने कार्यक्रम रहेको छ। यस महाधिवेशनमा पार्टीले महिला, दलित, आदिवासी जनजाति, अल्पङ्ख्यक, सीमान्तकृत समुदायलाई व्यापक रुपमा समावेशीकरणसमेत गरेको छ।
 
महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने हुनेछ। निर्वाचन प्रक्रिया फागुन २३ गते हुने कार्यक्रम रहेको छ। राजधानी प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशनसम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ।
 
बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरा, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका तस्बिर र नारा लेखिएका ब्यानर टाँसिएका छन्।
 
महाधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्ने हुनाले सभापति, महामन्त्री तथा कोषाध्यक्षजस्ता शीर्ष तहमा हालसम्म कसैले पनि उम्मेदवारी सार्वजानिक गर्नुभएको छैन। तर कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदका लागि अलगअलग समूहमा उम्मेदवारी दिने निश्चित देखिन्छ। सर्वसम्मत रुपमा सहमति नभएपछि उनीहरु चुनावी प्रतिस्पर्धामा होमिन लागेका हुन्।
 
काँग्रेसको दोस्रो महाधिवेशन २००४ मा बनारसमा, तेस्रो महाविधेशन २००५ मा भारतको दरभङ्गामा, चौथो भारतकै कलकत्तामा २००६ चैत २७ मा पाँचौँ अधिवेशन २००९ साल जेठमा जनकपुरमा सम्पन्न भएको थियो।
 
यसैगरी छैटौँ महाधिवेशन २०१२ माघमा वीरगन्ज, विशेष अधिवेशन २०१४ मा विराटनगर र सातौँ महाधिवेशन २०१७ साल वैशाखमा काठमाडौमा भएका थिए।
 
सातौँ महाधिवेशन ३१ वर्षपछि आठौँ महाधिवेशन २०४८ मा फागुनमा झापामा, नवौँ महाधिवेशन २०५३ मा काठमाडौँ, दशौँ महाधिवेशन २०५७ मा पोखरा, ११औ महाधिवेशन २०६२ भदौ १४ देखि १७ गतेसम्म काठमाडौँ र १२औ महाधिवेशन २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडौ नै सम्पन्न भएको थियो। रासस 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ