प्रदेश नं ३ सरकारद्वारा ९ अस्पतालका अध्यक्ष नियुक्त, उपत्यकामा सकेन
प्रकाशित २०७५ मंसिर २९ शनिबार
297
Shares
हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेश मातहतका नौ जिल्ला अस्पतालमा अध्यक्ष नियुक्ति गरेको छ । कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि सामाजिक विकास मन्त्रालयलाई अध्यक्ष नियुक्तिको बाटो खुलेको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार मकवानपुरको हेटौँडा अस्पताल विकास समितिको अध्यक्षमा डेगराज (प्रकाश) पौडेल, चितवनको भरतपुर अस्पतालमा खिमलाल भण्डारी, धादिङ अस्पतालमा महेन्द्र धमला, नुवाकोटको त्रिशूली अस्पतालमा अर्जुनप्रसाद न्यौपाने, रसुवा अस्पतालमा रामशरण कुँइकेल नियुक्त भएका छन् ।
त्यस्तै, भक्तपुर अस्पतालमा मिलन सुवाल, सिन्धुली अस्पतालमा प्रल्हाद पोखरेल, सिन्धुपाल्चोकको चौतारा अस्पतालमा ईश्वरीप्रसाद श्रेष्ठ र रामेछाप अस्पतालमा रोशन पाख्रिन नियुक्त भएका छन् । समितिमा मेडिकल सुपरिटेण्डेट सदस्यसचिव हुने व्यवस्था छ । सामाजिक विकासमन्त्री युवराज दुलालले काठमाडौँ ललितपुर, काभ्रे र दोलखा अस्पताल प्रदेशमा हस्तान्तरण नभइसकेको जानकारी दिए।