विराटनगर। श्रीलंकाले आयोजना नगर्ने भएपछि दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता ‘साफ महिला च्याम्पियनसिप’ को पाँचौं संस्करण नेपालमा हुने लगभग पक्का भएको छ। यससंगै नेपालको कुन ठाँउमा ‘साफ महिला च्याम्पियनसिप’गर्ने भन्ने विषयमा बहस पनि शुरु हुन थालेको छ।
आउदो डिसेम्बर १७–२६ अर्थात पुष २ गते देखि ११ गते सम्म हुने साफ च्याम्पियनसिप गर्न विराटनगर पनि तयार रहेको छ। साफले सहमति दिएमा प्रतियोगिता सन्चालनका लागि विराटनगर तयार रहेको अखिल नेपाल फुटबल संघ एन्फाका सह महासचिव बसन्त अर्यालले जानकारी दिए। यसका लागि विराटनगर महानगरले विशेष सहयोग गर्ने घोषणा समेत गरेको छ।
मंगलबार विराटनगर स्थित सहिद रंगशालाको खेलमैदानको अबस्था अनुगमन गर्दे विराटनगर महानगरका मेयर भीम पराजुलीले साफ महिला च्याम्पियनसिप प्रतियोगिता विराटनगरमा गराउन पहल गरेका छन्।
खेलकुदका अगुवा तथा विज्ञहरुको टोलीसंग कुराकानी गर्दे मेयर पराजुलीले महानगर सवैखाले सहयोग गर्न तयार रहेको बताए। मेयर पराजुलीले खेलकुदको विकासमा महानगरले लगानी गरिरहेको बताउदै यसमा सवैको सहयोग आबश्यक रहने बताए ।सवैखाले तारतम्य मिलेमा साफ महिला च्याम्पियनसिप प्रतियोगिता विराटनगरमै हुने खेलकुदकर्मीहरुको भनाई छ्।