कोस्टारिकाबाट न्यूयोर्क फर्किए प्रधानमन्त्री ओली, बिहिबार कतार हुँदै काठमाडौँ
सुरेन्द्रबहादुर नेपाली,
प्रकाशित २०७५ असोज १७ बुधबार
269
Shares
न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बुधबार न्यूयोर्क आइपुगेका छन् ।
कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली सान होजे गएका थिए ।
उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गरेका थिए ।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका, प्रतिनिधिमण्डलमा रहेका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।
प्रधानमन्त्री ओली बिहीबार कतार हुँदै काठमाडौँतर्फ फर्कने कार्यक्रम रहेको छ ।रासस