कांग्रेसको जरा अभियानले संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको मोहन आचार्यको दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
184
Shares
रसुवा । प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले जरा अभियानले पार्टी सङ्गठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् ।
४४ औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाद्वारा आयोजित जरा अभियानको समापन समारोहलाई सम्बोधन गर्दै नेता आचार्यले जरा अभियानले पार्टी सङ्गठन सुदृढीकरण र क्रियाशील सदस्यता अद्यावधिकका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।
कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि जरा अभियान वैशाख १ गतेदेखि शुरू गरेको थियो । १ वैशाखमा सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका – ३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको शुरू भएको थियो ।
अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो । जरा अभियानमार्फत कांग्रेसले डिजिटल कांग्रेस आईडी अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने बताएको थियो ।
कार्यक्रममा नेता आचार्यले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना, भूमिसुधारको कार्यान्वयन र राष्ट्रियताको संवर्धनमा अतुलनीय योगदान पुर्याए । उनले बीपी नेतृत्वको सरकारले बिर्ता प्रथाको उन्मुलन र “जग्गा जोत्नेको हुनुपर्छ” भन्ने वैज्ञानिक भूमिसुधारको अवधारणा अघि सारेको र यसले सामन्ती भू-स्वामित्वलाई तोड्न मद्दत गरेको बताए ।
बीपीले सधैँ नागरिकको स्वतन्त्रता र समतामूलक समाजको पक्षमा उभिएको बताउँदै नेता आचार्यले बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो राजनीतिको प्रमुख आधार बनाएको बताए ।
कार्यक्रममा जिल्ला र पालिका स्तरमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले बुझाएको प्रतिवेदनमाथि समीक्षा, अनलाइन सदस्यताको डिजिटल विवरण आदान-प्रदान, र पार्टीको १५औँ महाधिवेशन तयारीबारे छलफल भएको थियो ।