मङसिरमा नहुने भयो आठौँ राष्ट्रिय खेलकूद, भौतिक पूर्वाधार नसकिएको तर्क
प्रकाशित २०७५ असोज १६ मंगलबार
163
Shares
काठमाडौँ । आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि नुवाकोटको ककनीमा बसेको छ ।
आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिएका छन् ।
बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति तय गर्नुका साथै संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय खेलकूद विकास ऐन २०४८ बारे छलफल हुने सदस्य सचिव विष्टले जानकारी दिए ।
परिषद्का अध्यक्ष तथा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा बोर्ड बैठक ककनीस्थित स्काउट हलमा जारी रहेको राखेप स्रोतले जनाएको छ ।
बैठक मङ्गलबारसम्म चल्नेछ । बैठक स्रोतका अनुसार आठौँ राष्ट्रिय खेलकूदको मिति करीब दुई महिना पर सार्ने विषयमा छलफल केन्द्रित छ ।