पाल्पा । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयको स्वर्गीय बुवा दिनानाथ पाण्डेयको ३१ औं पुण्यतिथि पारेर ईलाका प्रहरी कार्यालय रामपुरको खेल मैदानमा खुल्ला व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा ईलाका प्रहरी कार्यालय रामपुरको परिसरमा भएको प्रतियोगिताको शनिबार एक समारोहका बीच उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जन्म दिने बुवाआमाको सम्मान र सम्झनामा कुशल छोराछोरीले यस्ता प्रतियोगितात्मक कार्यक्रम गरि युवा वर्ग लगायत सबैलाई समेट्नु महत्वपुर्ण रहेको बताए ।
उनले खेल खेल्नु ठुलो कुरा नभएर दिवंगत भएका बुवाको सम्झनामा युवाबीच आपसी भाइचाराको सम्बन्ध जोगाइराख्न निरीक्षक पाण्डेले गरेको खेलको पहलले समाजमा बुवाआमा र खेलप्रेमीमा राम्रो सन्देश गएको बताए ।
युवाहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्दै थापाले यस्ता प्रतियोगिताले प्रहरी र नागरिक बीच अन्योन्याश्रित सम्बन्ध बिस्तार हुनुका साथै रामपुरबासीमा मेलमिलाप र एकताको संदेश दिएको बताए ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख मधुसुदन भट्टराईले प्रतियोगिताले आपसी सम्बन्ध सुधारसँगै जन्मदिने बाबुको सम्मानमा एक सच्चा सुपुत्रले गरेको कार्य उदाहरणीय भएको उल्लेख गरे ।
सहभागि खेलाडीहरुलाई शुभकामना तथा स्वागतको साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले युवाबीचको सम्बन्ध सुधारको लागि खेलले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
खेलका धेरै प्रतियोगिता हुने भएपनि व्याडमिन्टनमा स्वच्छ, मर्यादित र अनुशासित प्रतिस्पर्धा हुने भएकाले नगर खेलकुद विकास समितिलाई आग्रह गरी कार्यक्रम गरिएको उनले बताए ।
रामपुरमा उत्साहजनक खुला व्याडमिन्टन प्रतियोगिता भने यो पहिलो हो । प्रतियोगितामा गुल्मी, नवलपरासी, रुपन्देही, पाल्पा र स्याङ्जाका गरी ४४ टिमको सहभागिता रहेको छ । दुई दिने प्रतियोगितामा प्रथम समुहले नगद १५ हजार र द्वितिय समुहले ७ हजार नगद प्राप्त गर्नेछन् ।