विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन लोरिसद्वारा जेल सजाय अस्वीकार
प्रकाशित २०७५ भदौ २७ बुधबार
254
Shares
लण्डन। विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन्। लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन्।
लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका छन्।
“गत जुलाई १५ तारिखका दिन उहाँ विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बन्नु भएको थियो, उहाँकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो” वकिल डेभिड सोनले भने।
“सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उहाँ लण्डनको मध्य भागमा पक्राउ पर्नुभएको छ” ती वकिलले थपे, “उहाँले आज अदालतमा क्षमा याचना गर्नुभएको छ ।” लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ भने, उनी अहिले विश्वकै सर्वाधिक आदरणीय व्यक्ति मानिन्छन्।
डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा देखिएको छ। बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ।
लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा याचना गरेका छन्।
‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो’ म स्वीकार गर्दछु ’ उनले भने। तर सधैँ यस्तै गति भने नहुने उनीद्वारा जारी विज्ञप्तिमा प्रष्ट पारिएको छ। एएफपी