मागेको रकम नदिदा दुस्प्रचार गरेको अछाम ढकारी गाउँपालिकाको आरोप
सुशील भण्डारी।
प्रकाशित २०७५ भदौ २० बुधबार
660
Shares
अछाम। माग गरिए अनुसार रकम प्राप्त नभएपछि आफूहरु विरुद्ध संगठित दुस्प्रचार भएको ढकारी गाउँपालिकाले जनाएको छ। गाउँपालिका बिरुद्ध प्रकाशन र प्रसारण भएका समाचारहरु तथ्यहिन र भ्रामक भएको भन्दै त्यस्ता संञ्चार माध्यामका बिरुद्ध कानुनी प्रकृयामा अघि बढ्ने ढकारी गाउँपालीकाले तयारी गरेको सोमबार मंगलसेनमा पत्रकार सम्मेलन गर्दै गाउपालीकाका अध्यक्ष धन बहादुर बुढाले जानकारी गराए।
आफ्नो र कर्मचारीको चरित्र हत्या गर्दै तथ्यहिन र भ्रामक समाचार प्रकाशन र प्रसारण गर्ने संञ्चार माध्याम र पत्रकारका बिरुद्ध कानुनी उपचार खोज्ने निर्णय गाउपालीकाको बैठकले गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए। ‘भ्रामक समाचार प्रकाशन प्रसारण गर्ने पक्षले कानुनि प्रक्रियामा जाने पक्का भइसकेपछि समझदारी गर्न दबाब दिएको छ ।’ पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बुढाले भने ,‘ कार्यपालिकाकोे आकस्मिक बसेको बैठकले कुनै पनि हालतमा पछि नसर्ने र कानुनी पक्रिया अनुसार अघि बढ्ने निर्णय भएको छ ।’
अध्यक्ष बुढाले आफ्नो गाउपालिकाले गरेका विभिन्न विकास निर्माणका कार्यहरुको अनुगमनका लागि आम सञ्चार माध्यमलाई आग्रह गरे। पत्रकारिता संवेदनशिल र मर्यादित पेशा भएकाले आफु जहिल्यै प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष बुढाले जिल्ला स्थित रेडियो रामारोशन एफएम, कैलास पोष्ट, चौरपाटी साप्ताहीक र जन आस्थामा प्रकाशन र प्रशारण भएको सबै कुरा झुटो भएकाले आफूहरु त्यस बिरुद्ध अदालत जान लागेको बताए।
पत्रकार सम्मेलनमा उनले एफएमका नाममा करिब १४ लाख बढी रकम माग गरिएको र सो रकम नदिएका कारण गलत प्रचार गरिएको बताए। त्यस क्रममा उनले रकम माग गरिएका कागजात पनि सार्वजनिक गरेका थिए।