arrow

एसियाड सम्पन्न, यस्तो छ अन्तिम पदक तालिका 

१५५२ पदकमा नेपाललाई एउटा

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
asiad-closing.JPG

काठमाडौँ । एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एसियाड एक हजार ५५२ पदको छिनोफानो गर्दै आइतबार राति सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरेको खेल आइतबार सम्पन्न भएको हो । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । 

प्रतियोगितामा ४९ खेल समावेश गरिएको थियो । ४५ देशका ११ हजार ५०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता सकिँदासम्म ३७ मुलुकले पदक जित्दा आठ मुलुक रित्तोहात घर फर्किएका छन् । 

प्रतियोगितामा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धामा रजत जित्न सफल भयो । प्याराग्लाइडिङले रजत जितेपछि नेपाल पनि पदकविहीन हुनबाट जोगियो । नेपालले २९ खेलमा सहभागिता जनाउँदा त्यसमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियल गरी २८७ जना सहभागी भएका थिए । 

दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म दुई रजत र २२ कास्य गरी २४ पदक जितेको छ । नेपालले सन् १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो र १९६२ मा इण्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन । 

नेपालले हालसम्म तेक्वान्दोबाट एक रजत, १३ कास्य, बक्सिङबाट छ कास्य तथा करातेबाट तीन कास्य र प्याराग्लाइडिङबाट एक रजत जित्न सफल भएको छ । 

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फूटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाएको थियो । 

पदक तालिकामा चीन अग्रस्थानमा 

सम्पन्न प्रतियोगितामा चीनले सबैभन्दा धेरै पदक जित्न सफल भयो । चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जित्न सफल भयो । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जित्यो । 

त्यस्तै दक्षिण कोरियाले कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी १७७ पदक जित्यो । आयोजक इण्डोनेसियाले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी ९८ पदक जित्यो । २१ स्वर्ण, २४ रजत र २५ कास्य जितेको उज्वेकिस्तान पाँचौँ, २० स्वर्ण २० रजत र २२ कास्य जितेर इरान छैटौँ भयो । त्यस्तै १७ स्वर्ण, १९ रजत र ३१ कास्य जितेको चाइनिज ताइपेइ सातौँ र भारत १५ स्वर्ण, २४ रजत र ३० कास्य गरी ५४ पदकाका साथ आठौँ भयो । 

यसैगरी काजाकिस्तानले १५ स्वर्ण, १७ रजत र ४४ कास्य गरी कूल ७६ पदक जित्यो । उत्तर कोरियाले १२ स्वर्ण, १२ रजत र १३ कास्य गरी ३७ पदक जित्यो । बहराइनले १२ स्वर्ण, सात रजत र सात कास्यसहित २६, थाइल्याण्डले ११ स्वर्ण, १६ रजत, ४६ कास्य गरी ७३ पदक जित्न सफल भयो ।

हङ्कङकले आठ स्वर्ण, १८ रजत, २० कास्य गरी ४६, मलेशियाले सात स्वर्ण, १३ रजत, १६ कास्य गरी ३६, कतारले छ स्वर्ण, चार रजत, तीन कास्य गरी १३, मङ्गोलियाले पाँच स्वर्ण, नौ रजत, ११ कास्य गरी २५, भियतनामले चार स्वर्ण, १६ रजत, १८ कास्य गरी ३८, सिङ्गापुरले चार स्वर्ण, चार रजत, १४ कास्य गरी २२, फिलिपिन्सले चार स्वर्ण, दुई रजत, १५ कास्य गरी २१, यूएईले तीन स्वर्ण, छ रजत, पाँच कास्य गरी १४, कुबेतले तीन स्वर्ण, एक रजत, दुई कास्य गरी छ, किर्गिस्तानले दुई स्वर्ण, छ रजत, १२ कास्य गरी २० पदक जित्न सफल भएका छन् । 

यसैगरी जोर्डनले दुई स्वर्ण, एक रजत, नौ कास्य गरी १२, कम्बोडियाले दुई स्वर्ण, एक कास्य गरी तीन, साउदी अरेबियाले एक स्वर्ण, दुई रजत, तीन कास्य गरी छ, मकाउले एक स्वर्ण, दुई रजत, दुई कास्य गरी पाँच, इराकले एक स्वर्ण, दुई रजत गरी तीन, लेबनानले एक स्वर्ण, एक रजत, दुई कास्य गरी चार, तुर्कमिनिस्तानले एक रजत, दुई कास्य गरी तीन, नेपालले एक रजत, पाकिस्तानले चार कास्य, अफगानिस्तानले दुई कास्य, म्यानमारले दुई कास्य र सिरियाले एक कासय पदक जित्न सफल भए । एशियाडको १९औँ संस्करण चीनमा हुने भएको छ । प्रतियोगिता सन् २०२२ को सेप्टेम्बर १० देखि २५ सम्म चीनमा हनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ