arrow

पारस सस्तैमा, ज्ञानेन्द्र चुके अर्धसतक जोड्न, सक्लान् त सागरले खेल मोड्न ? 

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
nepal-oman.JPG

काठमाडौं । मलेसियामा सुरु भएको एसिया कप छनोट क्रिकेटमा अहिले नेपालले ओमानसंग खेलिरहेको छ । क्वालालम्पुरमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । सुवास खकुरेललाई ४ रनमा गुमाएपछि दवाव सुरु भएको नेपालका लागि कप्तान पारस खड्का सस्तैमा आउट भए ।

पारसले २४ बल खेलेर ८ रनमै आउट भएका हुन् । ओपनर उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक बनाउन चुके । ज्ञानेन्द्रले ६० बल खेलेर ४५ रन जोडे । ज्ञानेन्द्रले १ छक्का पनि ठोके । 

दिपेन्द्र सिंह ऐरी ९ रनमा आउट भए । नेपालले ८० रन जोड्दा ४ विकेट गुमाएकामा सागर पुन र आरिफ शेखले साझेदारी गरिरहेका छन् ।  

नेपाली टिममा कप्तान पारस खड्का, सागर पुन, प्रदीप सिंह ऐरी, आरिफ शेख, रोहित कुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् । 

पछिल्ला चार भिडन्तमा नेपालले २ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । अन्तिम २ खेल भने ओमानले जितेको थियो । 

पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो ।

श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो । प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, ओमान, हङकङ, सिंगापुर र युनाइटेड अरब इमिरेट्स युएई छन् । 

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । विजेता टोलीले सेप्टेम्बर १५ बाट युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

 नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आफ्ना खेलाडीहरू भारत र पाकिस्तानविरुद्ध खेल्न आतुर भएको बताएका छन् । 

नेपालले लिग चरणमा बिहिबार युएईविरुद्ध, शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ