arrow

एसियाडको भब्य उद्घाटन

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
asiad-nepal.JPG

जकार्ता। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जकार्ताको गेलारो बुुङ कार्नाे रंगशालामा एक भब्य समारोहबीच एसियाली खेलकुदको १८ औं संस्करण सुरु भएको घोषणा गर्दै एसियाली महादेशकै सबै भन्दा ठूूलो खेल महोत्सवको औपचारिक उद्घाटन गरे। राष्ट्रपति विडोडो एसियाडको उद्घाटन गर्न आफ्नो निवासबाट कार्गेटमा आए पनि बीच बाटैमा कार्गेटबाट ओर्लिएर आफै मोटरसाइकल चलाएर रंगलाशाला प्रवेश गरेका थिए । मोटरसाइकलमा रंगशाला प्रवेश गरेसँगै १८ औं एसियाडको भव्य उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएको थियो।

मोटरसाइकल चढेपछि रंगशाला पुग्नुअघि राष्ट्रपति विडोडोले आकर्षक स्टन्ट समेत प्रदर्शन गरेका थिए। ‘एसियाको नयाँ शक्ति इन्डोनेसियामा तपाईहरुलाई स्वागत छ। एसियाड आजबाट सुरु भएको घोषणा गर्छु।’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विडोडोले भने।

एसियाली खेलकुदकै इतिहासमा दुुई फरक शहरमा हुन लागेको एसियाडका खेलहरु सेप्टेम्बर २ तारिखसम्म राजधानी जकार्ता र पालेम्वाङमा हुनेछ। दोश्रो पटक एसियाड आयोजना गरेको इन्डोनेसियाले सन् १९६२ को चौथो संस्करण आयोजना गरेको थियो । 

४५ देशका ११ हजार ५ खेलाडी सहभागी एसियाडमा विभिन्न ४० खेलमा ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। एसियाडमा हालसम्मकै सर्वाधिक खेलमा सहभागिता जनाएको नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ। १ सय २९ पुरुष र ५६ महिला खेलाडी एसियाडमा सहभागी छन्। नेपालले एसियाडमा सहभागी गराएको खेलाडी संख्या पनि अहिलेसम्मकै सर्वाधिक हो।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष अहमद अल फहाद अल अहेमद अल सवाहले एसियाडको उद्घाटन समारोहलाई सम्बोधन गर्दै इन्डोनेसियाले ४५ राष्ट्रलाई एउटै स्थानमा ल्याएको र भाइचारको सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताए। उनले इन्डोनेसियाको अतिथि सत्कारले सबैलाई प्रभावित पारेको बताउदै ५३ बर्ष पछि इन्डोनेसियामा एसियाड फर्केको बताए।

त्यस्तै आयोजक कमिटिका अध्यक्ष तथा एनओसी इन्डोनेसियाका अध्यक्ष इरिक थोहिरले एसियाडले नयाँ इतिहास रचेको बताए। उनले इन्डोनेसियाले आयोजनाका लागी राम्रो तयारी गरेको बताउदै खेलाडी राष्ट्रको शक्ति भएको बताए।

रंगशालाको मध्यभागमा कृतिम पहाडमा झरना बनाएर मञ्चलाई आकर्षक बनाइएको थियो। इन्डोनेसियाको पर्यटकीय एवं चर्चित स्थल बालीको पहाडलाई झझल्को दिने गरी मञ्चमा कृतिम पहाड तयार पारिएको थियो। विविधताले भरिएको इन्डोनेसियाको संस्कृतिलाई उद्घाटन समारोहमा प्रस्तुत गरिएको थियो । चर्चित कलाकारले प्रस्तुती दिएका थिए।

कमलले बोके नेपाली झन्डा

दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनका एक मात्र स्वर्ण विजेता कमलबहादुर अधिकारीले मार्चपास्टमा नेपालको झन्डा बोकेका थिए।  मार्चपास्टमा नेपालबाट १ सय १० सदस्यीय टोली सहभागी थिए । केहि खेलाडी आउने क्रम बाँकी रहेको र आइतबार प्रतिस्पर्धा गर्नुपर्ने खेलाडीले मार्चपास्टमा सहभागीता नजनाएको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षक विभाग निर्देशक एवं अफिसियल रिमबहादुर रानाभाटले जानकारी दिए।

नेपालको खेल – नेपालले आइतबार तेक्वान्दो, कुस्ती, फुटबल, ब्याडमिन्टन, उसु, कबड्डी, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्ने अफिसियल रानाभाटले जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ