पोखरा विश्वविद्यालय आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु न्यूनतम मापदण्डविपरित सञ्चालित भएको आरोप
प्रकाशित २०७५ साउन २३ बुधबार
493
Shares
काठमाडौ। नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालय अन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेको आरोप लगाएको छ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा ‘विश्वविद्यालय सुधार अभियान’ विषयमा पत्रकार सम्मेलन गर्दै समितिका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । शिक्षाजस्तो पवित्र क्षेत्रमा मापदण्ड पुरा नगरी एकोहोरो नाफामात्र उद्देश्य राखी क्याम्पसहरु सञ्चालन गरेको भन्दै शिक्षामा व्यापारीकरण भएको उनीहरुको आरोप छ ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तथा पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति संयोजक नवराज त्रिपाठीले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले न्यूनतम मापदण्ड पनि पुरा नगरि सञ्चालन गरेको दाबी गरे ।
उनले भने,‘लगभग ५८ ओटा पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरु लगायत यसको आंगिक कलेजले आवश्यक न्यूनतम मापदण्ड पनि पुरा गरेका छैनन् । शिक्षक, जमिन, ल्याब लगायतका अन्य बिषयहरुमा हामीले अनुसन्धान गर्यौ, तर एउटापनि कलेजहरुले नियमको पालना गरेको पाएनौँ ।’
त्रिपाठीले अघि थपे,‘एउटै विश्वविद्यालयको क्याम्पसमा भर्ना हुन समेत फरक मापदण्ड छ । यसले विश्वविद्यालयको परिभाषानै मिचेको छ । विश्वविद्यालय भनेको ज्ञानलाई उब्जाउ गर्ने ठाँउ हो । तर अहिले यसलाई पैसा कमाउने भाँडो बनाएका छन् । यो दुःखद् पक्ष हो।’
त्यसैगरि कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तथा पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति उप–संयोजक सुदर्शन कुमार पौडेलले अहिलेको शिक्षा नितीमा अन्यौलता भएको बताए । उनले भने,‘क्याम्पसहरुले विद्यमान नियम पालना नगरि सञ्चालन गर्नाले कस्तो र कुन स्तरको जनशक्ति उत्पादन होला ? तसर्थ शैक्षिक क्षेत्रमा व्याप्त समस्याहरुको निराकरणको लागि ध्यान दिनुपर्छ ।’
विश्वविद्यालयको यस्तो लापरबाहीलाई मध्येनजर गर्दै अनुसन्धानको आधारमा समितीले रिपोर्ट तयार पारेको बताउँदै समितिले एकद्धार प्रवेश परिक्षाको व्यवस्थाको पनि माग गरेको छ । त्यस्तै विद्यार्थीको अनुसन्धनात्मक, प्राज्ञिक र अन्वेषणात्मक कामको लागि रिसर्च तथा डेभलपमेन्ट फण्डको पनि उनीहरुले माग गरेका छन् ।
त्यसैगरि उनीहरुले विद्यार्थीको जायज मागहरु सम्बोधन गर्न क्याम्पसमा स्ववियू निर्वाचन गनुपर्ने तथा विद्यार्थीको सुविधाको लागि काठमाडौ, बुटवल, चितवन र दाङमा विश्वविद्यालयको सम्र्पक कार्यालय स्थापना गर्न समेत माग राखेका छन् र यसको लागि आन्दोलनका कार्यक्रमहरु तय गरेका छन् ।
उनीहरुले अघि सारेका कार्यक्रम अन्र्तगत यही साउन २४ गते विश्वविद्यालयका सबै क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने, २६ गतेबाट धर्ना लगायतका बिरोध कार्यक्रम र हरेक क्याम्पस प्राङगणमा क्याम्पसको अनियमित कार्यहरुको भण्डाफोर गर्ने रहेको छ ।