काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय क्रिकेट टोलीका फ्यान रहेका छन् । शुक्रबार राति नेदरल्याण्ड्सविरुद्ध नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डले बधाई दिएका छन् ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय रहेको उल्लेख गर्दै प्रचण्डले नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ दिदै लेखेका छन् ' एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय छ । आजको खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको छ । नेपाली क्रिकेट टीमको यो जीतका लागि कप्तान पारस खडकादेखि सम्पूर्ण टीम, प्रशिक्षक र विश्वभरीका नेपालीहरुमा हार्दिक बधाई तथा भविष्यमा अझै राम्रो खेलको आशासहित शुभकामना व्यक्त गर्दछु ।'