arrow

इतिहास कोर्दै नेपाली क्रिकेटः अन्तर्राष्ट्रिय एक दिवसीयमा ‘डेब्यु’ खेल्दै [प्रिभ्यू]

दिउँसो २ः४५ मा नेदरल्याण्ड्ससंग 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
nepal-netherlands.jpg

काठमाडौं । सन् १९८८ मा आईसीसीको सदस्य बनेर १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको नेपालले बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा  ‘डेब्यु’ गर्दैछ । गत मार्चमा एक दिवसीय मान्यता पाएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले बनाएको तालिका अनुसार पहिलो खेल नेदरल्याण्ड्ससंग खेल्न लागेको हो । 

पहिलो एक दिवसीय श्रृंखला अन्तर्गत नेपालले नेदरल्याण्ड्ससंग उसकै मैदानमा दुई खेलमा श्रृंखला खेल्नेछ । बुधबार दिउँसो २ः४५ बजे एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले आफ्नो मेहनतको यात्रालाई अगाडि बढाउने छ । 

यो खेललाई लिएर आइसीसी पनि निकै उत्साही देखिएको छ । नेपाल र नेदरल्याण्ड्स दुवै टिमका लागि यो अन्तर्राष्ट्रिय डेब्यु खेल हो । आइसीसीले पनि यो खेललाई निकै महत्व दिएको छ । 

आइसीसीले नेपाललाई इतिहास रच्न राम्रो अवसर भएको भनेको छ । तर नेदरल्याण्ड्स केही बलियो टिम भएकाले नेपाललाई खेल्न सजिलो भने नभएको उल्लेख गरेको छ । नेपालले विश्वकप छनोटमा राम्रो प्रदर्शन गरेको भन्दै आइसीसीले प्रशंसासमेत गरेको छ । 

आइसीसीले कप्तान पारस खड्काको विशेष प्रशंसा गर्दै पहिलेको खेलको बारेमा लेखाजोखा गरेको छ भने शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र ज्ञानेन्द्र मल्लको योगदान महत्वपूर्ण हुने पनि उल्लेख गरेको छ । 

दुवै टिमको अवस्था उस्तै छ । दुवैले अभ्यासका क्रममा इंगल्याण्डको लर्डसमा मेरिलिबोन क्रिकेट क्लव एमसीसीसंग त्रिकोणात्मक टी–२० अभ्यास खेलेका थिए । तर वर्षाले खुलेर खेल्ने अवसर भने दिएन । 


के छ हेड टु हेड
सन् २०१४ को विश्वकप छनोटमा नेपाल नेदरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । सन् २०१५ मा आइसीसी विश्व क्रिकेट लिगमा नेपाल २ विकेटले विजयी भएको थियो । 

सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियसिपमा पहिलो खेलमा नेदरल्यान्ड ७ विकेटले विजयी हुदा दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको थियो । पछिल्लो पटक २०१८ मार्चमा भएको विश्वकप छनोटमा नेपाल ४५ रनले पराजित भएको थियो । 


के भन्छन् पारस ?
कप्तान पारस उत्साही पनि छन् र उनी जिम्मेवारवोध भएको पनि बताइरहेका छन् । उनी आफूलाई अन्तर्राष्ट्रिय एक दिवसीयको पहिलो खेलको कप्तान हुन पाएकोमा गर्व पनि गरिरहेका छन् । 

उनले ट्वीटरमा ट्वीट गर्दै नेपाली क्रिकेटसंग जोडिएका सबैलाई विशेष धन्यबाद दिएका छन् । उनले बुधबारको खेललाई एक सुरुआत भनेका छन् । 

प्लेयर्स टु वाच –
पहिलो खेलका लागि नेपालबाट सन्दीप लामिछाने नै महत्वपूर्ण कोटामा रहेका छन् । उनलाई विशेष ध्यान दिएर विश्वले हेरिरहेको हुनेछ । १७ वर्षे सन्दीपको स्पीनको जादूको प्रशंसा धेरै उच्च कोटीका क्रिकेटरले गरिसकेका छन् । 

उनले पाकिस्तानविरुद्ध लिएको ३ विकेटले नै उनको स्तर जनाउँछ । आइपिएल क्रिकेटदेखि क्यानडासम्मको व्यवसायीक खेलले पनि सन्दीपलाई धेरैले विशेष रुपले हेरिरहेका हुनेछन् । मैदानमा उनको स्पीनको जादू चल्ने विश्वास गरिएको छ । 

नेदरल्याण्ड्सतर्फ पनि वेल्सी बारेसीको खेल महत्वपूर्ण हुन सक्नेछ । उनले इंगल्याण्डमा भएको टी–२० श्रृंखलामा नेपाल विरुद्ध ४४ रन बनाएका थिए । त्यो उनको निकै आकर्षक प्रदर्शन थियो । बुधबार पनि उनी हाबी हुन सक्नेछन् । 

नेपाली टिम
पारस खड्का (कप्तान), आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, ललित भण्डारी, शक्ति गौचन, करण केसी, सुवास खकुरेल, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, ललित राजबंशी, बसन्त रेग्मी, अनिल शाह, सोमपाल कामी र शरद भेषावकर 

नेदरल्याण्ड्स टिम
पिटर सीलार (कप्तान), वेस्ली बारेसी, बेन कुपर, बास डे लीड, स्कट एड्वार्डस्, फ्रेड क्लासेन, स्टेफान माइब्रग, म्याक्स ओ’डाउड, हिड्डे ओभरडिक, माइकल रिप्पोन, शाने स्नाटर, डानियल टार ब्राक र पल भान मिकेरेन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ