ओलम्पिकका सहभागी तथा एसियाड र सागका विजेतालाई मासिक भत्ता
प्रकाशित २०७५ साउन १४ सोमबार
225
Shares
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले हालसम्मका नेपाली ओलम्पियनलाई साउन महिनादेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । सुरुआतका रुपमा आइतबार बबरमहलस्थित कार्की बैंक्युटमा आयोजित एक कार्यक्रमबीच ओलम्पियनलाई साउन महिनाको भत्ता उपलब्ध गराइयो ।
८० ओलम्पियनलाई जनही ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन सुरु गरेको थियो ।
सागका स्वर्णधारी र एसियालीका पदक विजेता पुरस्कृत–
पहिलो दक्षिण एसियाली खेलकुद (साग) देखि १२ औं सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । ९४ स्वर्णधारीलाई एक स्वर्णका लािग मासिक ५ हजारका दरले कुल ४० लाख रुपैयाँ वितरण गरियो । २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा ८ महिनाको मासिक ५ हजारका दरले दिनु पर्ने पुरस्कार वितरण गरिएको हो ।
त्यस्तै एसियाली खेलकुदका पदक विजेतालाई पनि २०७४ मंसिर देखि २०७५ असारसम्म ८ महिनाको एक पदकका लागि ५ हजारका दरले रकम प्रदान गरिएको थियो । ८ जनालाई जम्मा ४ लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ ।
२०७४–७५ का अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत –
आर्थिक वर्ष २०७४÷७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पुरस्कृत भए । ४ सय १२ खेलाडीलाई जम्मा १९ लाख २५ हजार नगद प्रदान गरियो ।
राखेप च्याम्पियनसिपका उत्कृष्ट खेलाडी पुरस्कृत –
राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पुरस्कृत भए । गत माघको पहिलो साता सम्पन्न भएको एक महिने प्रतियोगितामा विभिन्न ३० खेल समावेश थिए । ३० खेलकै उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही १५ हजार नगद पाए । तेक्वान्दोको हकममा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष–महिला खेलाडी चयन गरिएकोले चारैलाई जनही ७ हजार ५ सय नगद पुरस्कार दिइयो ।
श्रष्टा सम्मानित–
प्रदेश ५ मा मंसिरमा हुने आठौं राष्ट्रिय खेलकुदका लोगो र मस्कट डिजाइनर तथा गीत र नाराका रचनाकारलाई पनि सम्मान गरिएको छ ।
लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका थिए । विष्टलाई लोगोका लागि ४५ हजार र मस्कटका लागि ३५ हजार नगद पुरस्कारसहित सम्मान गरियो । त्यस्तै गीत रचनाकार नारायण खतिवडालाई २५ हजार र नारा रचानाकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई ५ हजार नगदबाट पुरस्कृत गरियो । सदस्य–सचिव विष्टले भने आफ्नो पुरस्कार रकम राखेपकै खातामा जम्मा गरिदिएका छन् । सोही अवसरमा संगीतकार बसन्त सापकोटालाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
खेलकुद मन्त्रालयद्वारा पदक विजेता र पत्रकार सम्मानित
सोही कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले ५ पदक विजेता खेलाडीसहित २ खेल पत्रकारलाई सम्मान गरेको छ ।
खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ बमोजिम आव २०७४–७५ मा भएका अन्तर्राष्ट्रिय च्याम्पियनसिपका पदक विजेता ५ खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।
कम्बोडियामा भएको विश्व खुन खेमर च्याम्पियनसिपका स्वर्ण विजेता अनिशा खड्का र राहुल थोकर लामालाई जनही १ लाख नगदसहित सम्मान पत्रद्वारा सम्मान गरियो ।
मंगोलियामा भएको नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपकी रजत विजेता ननिता महर्जन ६५ हजार तथा सोही प्रतियोगिताका कांस्य विजेता रुजेश शाही ३५ हजार नगदसहित सम्मानित भए । त्यस्तै दक्षिण कोरियामा भएको ५१ औं एसियाली पुरुष भारोत्तोलनका कांस्य विजेता कमल भण्डारीलाई पनि ३५ हजार नगदसहित सम्मान गरियो ।
सम्मानित हुने पत्रकारमा नेपाल टेलिभिजनका राजु सिलवाल र बीबीसीका निरञ्जन राजवंशी रहेका छन् । दुवैलाई जनही ५० हजारसहित सम्मान पत्र प्रदान गरियो । उनीहरुलाई उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले सम्मान गरे ।