काठमाडौं । इंगलिस फुटबल क्लब लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले च्याम्पियन्स लिग फुटबलको फाइनलमा सर्जियो रामोसले मोहम्मद सलाहमाथि गरेको फाउलप्रति कडा टिप्पणी गरेका छन् । लिग सुरु हुनु केही समय अगाडि क्लोपले गत मे महिनामा भएको च्याम्पियन्स लिगको फाइनलमा रामोसले देखाएको खेल फुटबलमा नभइ रेस्लिङमा हुने बताए ।
उक्त खेलमा लिभरपुलका सलाहलाई रियाल मड्रिडका डिफेन्डर रामोसले फाउल गरेर घाइते बनाएका थिए । यसकै कारण सलाहले उक्त फाइनल खेल्न त सकेनन् नै विश्वकपमा समेत उनी बाहिर बस्नुपर्यो ।
फाइनल खेल सकिएको दुई महिनापछि खोलेका क्लोपले रामोसले त्यो खेलमा देखाएको व्यवहार निकै खराब रहेको बताए । क्लोपले सलाहले यसअघि जस्तै यसपटक पनि प्रिमियर लिगमा उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरे ।
च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल ३–१ ले पराजित भएको थियो । २६ मिनेटमा सलाह घाइते भइ मैदानबाट बाहिरिँदा आँशु चुहाएका थिए ।