काठमाडौं । युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । पहिलो खेल जितेर दोस्रो हारेको नेपालले तेस्रो अभ्यास खेलमा इस्ट लन्डन–११ लाई २२३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले दिएको ३३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन ३८.५ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटियो ।
यो भ्रमणपछि सन्यास लिने बताइसकेका पाका खेलाडी शक्ति गौचनले ४ विकेट लिए । करण केसी र ललित भण्डारीले समान २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अनिल कुमार साहको सतकको मद्धतले ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनायो । आक्रमक खेल पस्कने क्रममा अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १३१ रन बनाए ।
ब्याटिङ खुलेको जारी अभ्यासमा कप्तान पारस खड्काले पहिलो खेलमा सतक बनाएका थिए ।
शरद भेषावकरले ८६ बलमा ९८ रन बनाए । नेपालले अब एक अभ्यास खेल खेल्न बाँकी छ । लर्डसमा त्रिकोणात्मक सिरिज र नेदरल्यान्डविरुद्ध डेब्यु एक दिवसीय क्रिकेट खेलको अभ्यासका लागि नेपालले इंग्ल्यान्डका स्थानीय क्लबसँग अभ्यास खेल खेलिरहेको हो ।