काठमाडौं । च्याम्पियन्स कप प्लेअफ फुटबलमा इंगलिस क्लव लिभरपुल पराजित भएको छ । लिभरपुललाई जर्मन क्लव बोरुसिया डर्टमुन्डले हराएको हो ।
डर्टमुन्ड ३–१ ले सहजै विजयी भयो । खेलको २५ मिनेटमै भिर्गिल भान डिजेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
हाफटाइमसम्म लिडर बनेको लिभरपुलले ६६ औं मिनेटमा क्रिस्टियन पुलिसिकको पेनाल्टी गोल खाँदा बराबरीमा आयो ।
८९ मिनेटमा पुलिसिकले अर्को गोल थपे । इन्जुरी समयमा ज्याकोब बु्रन लार्सनले गोल गरेर डर्टमुन्डलाई ३–१ ले जिताए । लिग सुरु हुनुअघि डर्टमुन्ड बढी नै सशक्त देखिएको छ ।
डर्टमुन्डले यसअघि शनिबार राति अर्को इंगलिस क्लव म्यान्चेस्टर सिटीलाई १–० ले हराएको थियो । सोही दिन जर्मन क्लव बायर्न म्यूनिखले फ्रेन्च क्लव नेइमारको पेरिस सेन्ट जर्मेनलाई ३–१ ले हराएको थियो ।
च्याम्पियन्स कपको बुधबार राति हुने इंगलिस क्लव चेल्सी र स्पेनिस क्लव सेभियाबीचको खेल भने स्थगित भएको छ । बिहिबार राति भने ६ खेल हुनेछन् ।