ढुक्क भएर विद्यालय सञ्चालन गर्न आग्रह, जवरजस्ती बन्द गर्न खोज्नेलाई कडा कार्वाही
प्रकाशित २०७५ असार १९ मंगलबार
686
Shares
काठमाडौँ । सरकारले शैक्षिक हडतालको बेला निर्बाध रुपमा विद्यालय सञ्चालन गरी पठनपाठन गर्न आग्रह गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी वासुदेव घिमिरेले शान्तिपूर्ण रुपले विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारलाई हनन हुन नदिनका लागि शैक्षिक हडतालका समयमा शैक्षिक संस्थालाई सुरक्षा प्रदान गरिने भएकाले विद्यालय सञ्चालन गर्न आग्रह गरिएको बताए ।
उनले विद्यालय सञ्चालनका लागि पूर्ण सुरक्षाको प्रत्याभूत दिलाउन जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।
उनले विद्यालय बन्द गराउने जोसुकैलाई पनि कानूनअनुसार कारवाही गरिने चेतावनी दिए ।
प्रशासन कार्यालयले शान्ति सुरक्षासम्बन्धी कुनै आवश्यक परेमा नजीकैको प्रहरी कार्यालय वा कार्यालयको फोन नं ०१–४२६२४७८ वा ९८५१२४८४७८ तथा महानगरीय प्रहरी परिसर, काठमाडौँको मोबाइल नं ९८५१२०५५५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
विद्यार्थी संगठनले भने शैक्षिक विकृतिको अन्त्य र वृद्धि भएको शुल्क फिर्ताको माग गर्दै पटक पटक आन्दोलन गरेका छन् ।
मंगलबार पनि विद्यालय बन्द गर्ने विद्यार्थी संगठनले जनाएपछि प्रशासन कडा रुपले प्रस्तुत भएको हो ।