arrow

पूर्वराष्ट्रपति डा यादवको जोड – युवालाई इतिहास, कला र संस्कृतिबारे बुझाउनुपर्छ 

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
rambaran2.jpg

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले युवा पुस्तालाई नेपालको भौगोलिक विविधता, साहित्य, कला, समाजशास्त्र र संस्कृतिबारे जानकारी दिलाउन आवश्यक रहेको बताएका छन् । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले नेपालको साहित्य, कला, संस्कृति, भाषा, रहनसहन, पुर्खाको योगदान, भौगोलिक अवस्था र विविधताका दृष्टिले समृद्ध भएको हुँदा यसबारे युवा पुस्तामा पर्याप्त जानकारी हुन आवश्यक रहेको धारणा व्यक्त गरे । 

पूर्वराष्ट्रपति डा यादवले भने, “तराईका जनतालाई हिमाल र पहाडको तथा हिमाल र पहाडका जनतालाई तराईको विविधता र संस्कृतिबारे जानकारी गराउनुपर्दछ, धेरै युवा पुस्तामा मुलुकको भौगोलिक अवस्था, विविधता र पूर्वजको योगदानबारे सामान्य जानकारी समेत नरहेको देखिन्छ । प्रकृति र पर्या पर्यावरण संरक्षणमा समेत अव युवापुस्तालाई संलग्न गराउनु पर्दछ ।” 

सो अवसरमा हास्यव्यङ्ग्य साहित्यमा विशिष्ट योगदान पुर्याएबापत रमेश खकुरेललाइ रु ५० हजार राशिको कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार तथा मुलुकको शिक्षा क्षेत्रको उन्नयनमा विशिष्ट योगदान दिएबापत काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मालाई कदरपत्रसहित सम्मान गरियो । 

समारोहमा प्रतिष्ठानकातर्फबाट नेपाली भाषाको संवद्र्धन र अनुसन्धानमा योगदान पु¥याएबापत लेखक पार्थमणि भट्टराईलाई पनि सम्मान गरियो । 

सो अवसरमा संस्कृतिविद् सत्यमोहन जोशीले प्रजातन्त्रका योद्धा कुलचन्द्र कोइरालाले विश्वमै बेग्लै खालको वैभवशाली संस्कृति बोकेको इन्द्रजात्राको संस्कृतिसम्बन्धी अनुसन्धान गरेर नेपाल र नेपालीलाई ठूलो गुन लगाउनुभएको भनी प्रशंसा गरे ।

सम्मानित व्यक्तित्व प्रा डा शर्मा र भट्टराई तथा पुरस्कृत व्यक्तित्व खकुरेलले स्व कोइराला नेपाली संस्कृति र शास्त्रीय परम्पराबीचको तालमेलको खोज, अनुसन्धान र हास्यव्यङ्ग्य विधामा निकै पोख्त हुनुहुन्थ्यो भने ।

सो अवसरमा पूर्वराष्ट्रपति यादवले कुलचन्द्र कोइराला प्रतिष्ठानद्वारा रजत जयन्तीका अवसरमा प्रकाशित दीपक स्मारिका र कोइरालाका जीवनगाथा र योगदान समेटिएको ‘स्मृति र दृष्टि’ नामक पुस्तक लोकार्पण गरे ।

प्रतिष्ठानका सचिव जीवनचन्द्र काइरालाले प्रतिष्ठानले नेपाली संस्कृति, कला र साहित्यको प्रवद्र्धनका लागि हालसम्म विभिन्न स्रष्टाका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ