जनताले अरुबेला साथीहरुलाई पत्याउँथे, अहिले हामीलाई पत्याए –नेम्वाङ
म त कोशीबाट पानीजहाज चढेर महासागर गएको सपना देख्छु
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
839
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवास नेम्वाङले अहिलेको नीति तथा कार्यक्रम जनताले सोचेका र जनतासंग आफूहरुले बाचा गरेका कुराहरु नै आएको बताएका छन् ।
उनले अरुबेला जनताले साथीहरुलाई पत्याउँथे अहिले हामीलाई पत्याएका छन् भने । प्रतिनिधिसभामा जारी नीति तथा कार्यक्रमबारे बोल्दै उनले सपना देख्नुपर्ने भन्दै कहिले रेल चढेको त कहिले कोशीबाट पानीजहाज चढेर महासागरसम्म गएको देखेको पनि बताए ।
उनले काँग्रेस सांसद डा मिनेन्द्र रिजाललाई भने, ‘तपाईकै मोरङबाट पानीजहाज चढेर जाउँ नै हुन्न ?’
उनले अहिले जनअपेक्षा अनुसारकै नीति तथा कार्यक्रम आएकाले यसमार्फत जनताका सपना संसदमा प्रवेश गरेको पनि बताए ।
उनले प्रतिपक्षीले पनि प्रतिपक्षीको हैन कि मित्रवत् तरिकाले व्यवहार गरोस्, हामी मित्रवत् तरिकाले व्यवहार गरिरहेका छौं भने ।
उनले भने, ‘संविधानलाई लिएर कतिपय असन्तुष्टिहरु छन्, सबै दलले समझदारी गरेका छन्, सम्झौताको दस्तावेज हो । समयअनुसार यसलाई परिवर्तन गरेर लैजानु पर्छ । संविधानले यो ठाउँ राखेको छ ।’