एन्फाको चुनाव बैशाख २२ मा हुने पक्का, कुँवर पक्षको रोक्ने प्रयास असफल
कर्माछिरिङ शेर्पा र मणि कुँवर भिड्दै
प्रकाशित २०७५ वैशाख २० बिहिबार
455
Shares
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन बैशाख २२ मै हुने निश्चित भएको छ ।बैशाख २२ गते हुने भनिएको एन्फा निर्वाचन रोक्न अन्तरिम आदेश माग दावी सहित परेको निवेदनमा काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने कारण नभएको जनाउदै खारेज गरेपछि बैशाख २२ मा हुने निश्चित भएको हो ।
न्यायधीश रमेशराज पोख्रेलले दिएको आदेशमा 'निर्वाचनमा आन्तरिम आदेश समेतको माग भएको सन्दर्भमा हेर्दा अखिल नेपाल फुटबल संघ केन्द्रिय समितिको मिति २०७४ /८/२४ को निर्वाचनले एन्फा केन्द्रीय कार्य समितिको निर्वचन सहितको साधरण सभा मिति २०७४ /१२/१४ मा गर्ने भनिएको उक्त निर्वाचन उच्च अदालतको मिति २०७४ /१२/८ को अन्तरिम आदेशका कारण मिति २०७४ /१२/११ मा स्थगन भएको देखिएको र उच्च अदालतको मिति २०७४ /१/१२ को आदेशले पूर्ववत अन्तरिम आदेश निष्कृय भए पछि एन्फा निर्वाचन समितिद्वारा मिति २०७५ /१/२२ मा निर्वाचन हुने भनी सूचना जारी गरेको देखियो । अदालतको आदेशले स्थगन भएको निर्वाचन अगाडी थालनी गरेको निर्वाचन प्रकृया अनुरुप पुन: मिति तोकी निर्वाचन गराउन निर्वाचन समितिले सक्ने देखिएकाले र उम्मेद्वारहरुको अन्तिम नामावली समेत प्रकाशित भै सकेको सन्दर्भमा हाल निवेदकहरुले माग गरे बमोजिमको अन्तरिम आदेश जारी गर्न परेन ।' उल्लेख गरिएको छ ।
निर्वाचन हार्ने डरका कारण वरिष्ठ उपाध्यक्ष मणि कुँवर लगायतको समूहले निर्वाचन रोक्नका लागि उच्च अदालत पाटनमा उजुरी दिएको विपक्षीको दावी छ । निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा समूह नै बनाएर मैदानमा रहेका छन् । कर्माछिरिङ शेर्पा समुहबाट उपाध्यक्षमा पंकज नेम्वाङ समेत उठ्दैछन । मणि कुँवरलाई विवादित पूर्व अध्यक्ष गणेश थापाको समर्थन रहेको छ ।
आइतबार उजुरी दिन गएका एन्फाकै पदाधिकारीहरुसमेतको उक्त उजुरी भने उच्च अदालत पाटनले दर्ता नगरेको स्रोतले बताएको छ । चुनावका लागि विधान अनुसार कम्तीमा ६० दिने म्यान दिनुपर्ने भन्दै उनीहरु उच्च अदालत पुगेका थिए ।
एन्फाको संस्थापन पक्षकै सहमति र उसैले खडा गरेको निर्वाचन समितिले बैशाख २२ गतेलाई निर्वाचनको मिति तोकेको थियो । यसअघि नै ६० दिने समय गुज्रिएको थियो । चैत १४ गते निर्वाचन गर्ने मिति तय भएका अवस्थामा अदालतमा मुद्दा परेपछि निर्वाचन स्थगित भएको थियो ।