आईपीएलमा सन्दीपको अग्नीपरीक्षा, पहिलो खेलमै खेल्लान् ?
प्रकाशित २०७४ चैत २५ आइतबार
409
Shares
काठमाडौं । पहिलो पटक नेपालबाट आईपीएलमा सहभागीता जनाउँदै गरेका नेपालका होनहार क्रिकेट खेलाडी सन्दीप लामिछानेले सम्भवतः आइतबार दिल्ली डेयरडेभिल्सबाट खेल्न पाउने छन् ।
शनिबाररातिदेखि सुरु भएको यो आईपीएल क्रिकेटको नयाँ सिजनको दोस्रो खेलमै सन्दीपको दिल्लीले खेल्न लागेको हो । नेपाली समयअनुसार मोहालीमा किंगस इलाभेन पञ्जाबसंग दिल्लीले खेल्दैछ ।
सबाल यो छ कि सन्दीपले पहिलो खेलमा खेल्न पाउँछन् कि पाउँदैनन् । यो टिममा निर्भर पर्ने विषय बनेको छ ।
दिल्लीले प्रायः ब्याटिङ लाइन बलियो राख्छ । त्यसअर्थमा पाँच ब्याट्सम्यान राख्यो भने दुई जना अलराउण्डर र बाँकी ४ जना बलर हुनेछन् ।
यसमा दुई जना फास्ट बलर र दुई जना स्पिन बलर हुनेछन् । त्यसमध्ये एक जना अमित हुनेमा शंका छैन । भारतकै १७ वर्षे अभिशेष शर्मा, २८ वर्षे जयन्त यादव र २८ वर्षे सहबाज नदीम सन्दीपका लागि तगारो बन्न सक्छन् ।
यदि यी तीनमध्ये कसैलाई अवसर नदिई रिक्की पोन्टिङ र गौतम गाम्भीरले सन्दीपलाई छाने भने यो खेल सन्दीपका लागि निकै महत्वपूर्ण हुनेछ ।
रिक्की पोन्टिङले केही दिनअघि पहिलो खेलमै सन्दीपले डेब्यू गर्न सक्ने बताएका थिए ।
सन्दीपले अभ्यास पनि राम्रै गरेका छन् । यो आधारमा यदि सन्दीप आए भने अन्यथा हुने छैन ।
आइतबार अपरान्ह ४ः१५ बजे दिल्लीले खेल्दै गर्दा नेपाली क्रिकेट फ्यानको ध्यान केवल सन्दीपमा टिकेको छ ।
आईपीएल ग्ल्यामर खेल पनि हो । सोही आँकलनमा सन्दीपलाई मौका दिने हो भने समग्र नेपालले यो खेल खेल्नेछ र यसको पपुलारिटी अझ बढ्ने छ ।
दिल्लीको रणनीति खेल जित्नुमा हुनेछ । पञ्जावलाई घरेलु मैदानमा जित्न दिल्लीलाई कठिन हुनेछ । रविचन्द्रन आश्विनको पञ्जावले पनि राम्रो रणनीति बुनेको छ ।
राति ८ः१५ बजे कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल हुनेछ ।
शनिबार रातिको उद्घाटन खेलमा चेन्नईले मुम्बईलाई १ विकेटले हरायो ।