arrow

सिटी बिरुद्ध घरेलु मैदानमा लिभरपुल तयार, बार्सा र रोमा भिड्दै

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
champions-league-news.jpeg

एजेन्सी। च्याम्पियन्स लिग फुटबल अन्तर्गत दुई ईङलिश क्लब लिभरपुल र म्यानचेष्टर सिटी क्वार्टरफाईनलको पहिलो लेगमा भिड्दैछन्। त्यसैगरि अर्को खेलमा स्पेनी क्लब बार्सिलोना र ईटालियन क्लब एएस रोमा आमने सामने हुँदैछन्। 

क्वार्टरफाईनल प्रतिस्पर्धामा लिभरपुल र सिटीको खेललाई बढी प्रतिस्पर्धात्मक हुने भन्ने आंकन काटिएको छ। सिटीले प्रिमियर लिगको उपाधि जित्ने लगभग पक्का रहेको अवस्थामा लिभरपुल मात्र एक टिम हो जस्ले उस्लाई हराएको थियो। 

लिभरपुल-म्यानचेस्टर सिटी

लिभरपुलको घरेलु मैदानमा हुने खेलमा यसअघिको भेटमा लिभरपुलले ४-३ले सिटीलाई पराजित गरेको थियो। यसैगरि सिटीले आफ्नो घरेलु मैदानमा लिभरपुललाई ५-०ले पराजित गरेको थियो। त्यसैले दुई टोली बिचको खेल आक्रमक र प्रतिस्पर्धात्मक हुने ठानिएको छ। 

दुवै टोली आफ्नो आक्रमणलाई हतियारका रुपमा लिन्छन र दुवैले आफ्नो खेल्ने शैली परिवर्तन नगर्ने संभावना ज्यादा रहेको छ। हुनत: प्रिमियर लिग र च्याम्पियन्स लिग दुई फरक प्रतियोगिता हुन र लिभरपुल महत्वपुर्ण खेलहरुमा बिपक्षीलाई स्तब्ध पार्न सक्ने टोलीका रुपमा परिचित रहेको छ। 

लिभरपुलका म्यानेजर क्लोपले म्यानेजरका रुपमा सिटीका म्यानेजर ग्वार्डिओला बिरुद्ध १२ खेलमा ६ जित हात पारेका छन्। क्लोपले डर्टमण्ड र लिभरपुलबाट उक्त सफलता हासिल गरेका हुन्। ग्वार्डिओलाले बायर्न म्युनिख र म्यानचेस्टर सिटीको म्यानेजर हुँदा उक्त खेलहरु गुमाएका थिए। 

लिभरपुल र सिटीले एक आपसमा १ सय ७८ पटक खेलिसकेका छन्। उक्त खेलहरुमा ८७ पटक लिभरपुल बिजयी भएको छ भने ४५ पटक सिटीले जित हात पारेको छ। दुबै टोलीले ४६ खेलहरुमा बराबरी गरेका छन्। सिटीले लिभरपुलको गृहमैदानमा बिगत १५ बर्षमा कुनै पनि जित हात पारेको छैन। 

यो सत्रको प्रिमियर लिगमा सिटीले ८८ गोल गरेको छ भने लिरपुलले ७५ गोल गरेको छ। लिभरपुलको आक्रमणमा मोहम्मद सलाह, फर्मिनो र सादियो माने रहेका छन् भने सिटीबाट गाब्रियल जिसस, लेरोय साने, रहिम स्टरलिङ रहने छन। 

बार्सिलोना- रोमा

विश्वका उत्कृष्ट खेलाडीहरु मध्य एक लिओनल मेस्सी रहेको टोली बार्सिलोनालाई साविक बिजेताका रुपमा हेरिएको छ। फुटबलमा जादुगर  मानिने मेस्सीलाई रोक्न रोमालाई हम्मे पर्ने निश्चित रहेको छ। बार्साका अर्का खेलाडी स्वारेज पनि पछिल्लो केही खेलदेखि आफ्नो लयमा फर्किएका छन। 

आफ्नो घरेलु लिग 'सिरी ए; मा अंक तालिकामा तेस्रो स्थानमा रहेको रोमालाई बार्सालाई उसको घरेलु मैदानमा पराजित गर्न हम्मे पर्ने छ । उता बार्सा यो सत्रमा घरेलु लिग 'ला लिगा'मा अपराजित रहेको छ। घरेलु लिगमा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड भन्दा ९ अंकले अगाडी रहेको बार्सा यो सिजन च्याम्पियन्स लिग जित्ने दाउमा रहेको छ। 

बार्साले रोमा बिरुद्ध आक्रमक खेल खेल्ने निश्चित रहेको छ। पहिलो लेगमा राम्रो बढत लिन पाए दोस्रो लेगको खेलमा तनाव कम हुने बार्सालाई राम्ररी थाहा छ। 

बार्साका स्टार खेलाडी मेस्सी साधारण घाईते भए पनि अहिले पुर्ण स्वस्थ रहेको बार्साले जनाएको छ। रोमाले च्याम्पियन्स लिगको समुह चरणको खेलहरुमा चेल्सी र एथ्लेटिको मड्रिड रहेको समुहमा पहिलो भएको हो। समुह चरणको जस्तो खेल पस्किन सकेमा रोमाले बार्सिलोनालाई स्तब्ध पार्न सक्नेछ। 

सन् २०१५को च्याम्पियन्स लिग खेलमा बार्साले रोमालाई आफ्नो घरेलु मैदानमा ६-१ गोलले पराजित गरेको थियो भने रोमाको घरेलु मैदानमा दुवै टोलीले १-१ गोल गरेका थिए। 

फुटबल अनिश्चितताको खेल हो। नयाँ दिनमा नयाँ खेल मानिने हुनाले पुराना तथ्याङ्कहरु पढ्न र हेर्न मा्त्रका लागि हो भन्ने भनाई मान्ने हो भने दुई टोली बिचको खेल रोमाञ्चक हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ