शान्ति समाजले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने
प्रकाशित २०७४ चैत ६ मंगलबार
586
Shares
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले चैत १७ गते प्रधानमन्त्री निवास वालुवाटार अगाडि धर्ना प्रदर्शन गर्ने भएको छ । समाजले सञ्चालन गरेको सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यका लागि अभियान अन्तर्गत काठमाण्डौमा धर्ना प्रदर्शन आयोजना गर्न लागेको समाजले जनाएको छ ।
समाज मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै ' शान्ति समाजले २०७० सालदेखि प्रत्येक वर्ष चैत १७ गते यो अभियान अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । नयाँ सरकार गठनसँगै २०७२ भदौमा कैलालीको टीकापुरमा घटेको घटना लगायत कतिपय दुर्दान्त घटनामा संलग्नहरुको मुद्दा फिर्ता लिने, आममाफी दिने जस्ता प्रयासहरु भइरहेको आशंका व्याप्त हुन थालेको सन्दर्भमा चिन्ता व्यक्त गर्दै दण्डहीनतालाई प्रोत्साहन दिने कुनै पनि कृत्य नगर्न शान्ति समाजले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।' उल्लेख गरेको
समाजले 'यसै गरी सन् १९९८ मा विधान पारित भई २००२ को जुलाईमा स्थापना भएको अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई हालसम्म १२३ देशले अनुमोदन (१५४ देशले हस्ताक्षर) गरिसकेको तर नेपालले भने हालसम्म यो विधानलाई अनुमोदन नगरेको हुँदा दण्डहीनताको अन्त्यका खातिर नेपालले शीघ्र अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न पनि शान्ति समाज आग्रह गर्दछ ।' भनेको छ ।