नेपाल र युएई भिड्दै, उपाधि र विश्वकप छनोट समूह तय हुँदै
प्रकाशित २०७४ फागुन ३ बिहिबार
328
Shares
काठमाडौं। विश्वकप छनोटको बाटो तय गरिसकेको नेपालले नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि फाइनल खेल्दैछ। नेपाली समय अनुसार दिउँसो १ः१५ बजे नेपालको भिडन्त युएईसंग हुनेछ। नेपाल राउन्ड रोबिनको पाँचौं तथा अन्तिम चरणको खेलमा क्यानडालाई १ विकेटले हराउँदै ८ अंकसहित शिर्ष स्थानमा रहेर विश्वकप छनोटमा पुगेको हो।
युएई भने ६ अंकसहित रनरेटमा क्यानडा र नामिबियालाई पछि पार्दै नेपालसंगै छानिएको हो। बिहिबारको खेल उपाधिसंगै विश्वकप छनोटमा कुन समूहमा पर्ने भन्नेमा महत्वपूर्ण हुनेछ। मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा १० टिम सहभागी हुनेछन्। सन् २०१९ को इंगल्याण्ड विश्वकपका लािग १० मध्ये दुई टिमबाट छानिने छन्।
समुह ए मा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनी छन्। त्यसैगरी समुह बी मा जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्। बिहिबारको विजेता समुह ए मा जानेछ भने उपविजेता समुह बी मा पर्नेछ। तुलनात्मक रुपमा दुवै समुह उत्तिकै रहे पनि टेष्ट मान्यता प्राप्त राष्ट्रहरु बी मा छन्।
यो खेलपछि शिर्ष दुईमा रहने टोली विश्वकपमा छानिने छन्। शिर्ष ३ मा पर्ने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने छन्। तर पुछारका दुई टोलीले भने फेरि डिभिजन–२ मै फर्कनुपर्ने छ। बीचमा रहेका बाँकी टोली डिभिजन –१ मै रहने छन्।
नेपाललाई बिहिबार उपाधि जितेरै कीर्तिमान बनाउन मुख्य चुनौती हुनेछ। राउन्ड रविनमा भने नेपालले युएईलाई हराएको थियो।