नेपालको विश्वकप छनोट खेल्ने सम्भावना बढ्यो, युएईमाथि ४ विकेटको जित
सोमबार नेपाल र केन्या भिड्दै
प्रकाशित २०७४ माघ २८ आइतबार
822
Shares
काठमाडौं। नेपालले ३ खेलमा २ जित निकाल्दै विश्वकप एक दिवसीय छनोट खेल्ने सम्भावना बढेको छ। नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ। जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने।
आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए। नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोज्यो। ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो। ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो। युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए। बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए।
पारस म्यान अफ द म्याच भए। नेपालले यसअघि नामिबियालाई हराउँदा ओमनसंग पराजित भएको थियो। नेपालले चौथो खेलमा सोमबार केन्यासंग खेल्नेछ। ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा क्यानडा तीन खेलमै जित हासिल गरेर ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकबाट दोस्रो स्थानमा छ। केन्यालाई पराजित गर्न सके थप सुरक्षित हुने थियो। शीर्ष दुई टिमले विश्वकप छनोट खेल्न पाउने छन्।