महाकाली अञ्चल अस्पतालमा अखिल क्रान्तिकारीको तालाबन्दी
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ माघ २८ आइतबार
337
Shares
कञ्चनपुर । अखिल क्रान्तिकारीले आईतबार महाकाली अञ्चल अस्पतालमा समेत तालाबन्दी गरेको छ । क्रान्तिकारीले विगतमा अस्पताल सुधारका लागि ज्ञापन पत्र बुझाउदा समेत अस्पताल प्रशासनले सुधारका लागि कुनै पहल नगरेको भन्दै अस्पतालमा तालाबन्दी गरेको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले अस्पताल सुधारका लागि पटक पटक ज्ञापन पत्र बुझाउदा समेत अस्पतालले वेवास्ता गरेका कारण महाकाली अञ्चल विकास समितिका अध्यक्ष अशोक प्रशाद पाण्डेको कार्यकक्षमा तालाबन्दी गरिएको बताए ।
क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्र राज विष्टले अस्पतालमा जनशक्ति उपकरण लगायत अस्पतालको समग्र सुधारका लागि ज्ञापन पत्र, माग पत्र, सम्बन्धीत निकायसंग छलफल, बहस गर्दा समेत कुनै सुधार नभएका कारण बाध्य भएर तालाबन्दी गरिएको बताए । माग नहुन्जेलसम्म तालाबन्दी यथावत रहने क्रान्तिकारीले जनाएको छ ।
अस्पताल स्रोतले क्रान्तिकारीले अघि सारेका माग विषयमा छलफल भईरहेको जनाएको छ । क्रान्तिकारीले भने गाडी दुरुपयोग रोक्न सुप विश्वविद्यालय सहमत र क्रान्तिकारीले अघि सारेका माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।