काँग्रेस विधानअनुसार चल्न नसक्दा कमजोर भयो : प्रकाशमान
प्रकाशित २०७४ माघ २० शनिबार
478
Shares
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताएका छन् । शंखमूलमा रहेका पाँचवटा टोलसुधार समितिले शनिवार हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई तथा सम्मान कार्यक्रम’मा उनले भने –“प्रजातन्त्रका लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दतिअनुसार चल्न नसक्दा कमजोर भएको हो ।”
“अब पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, त्यसका लागि म लड्नेछु,”– नेता सिंहले भने ।
पूर्वमहामन्त्री सिंहले निर्वाचन भएको दुईवर्ष बित्दा पनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु दुःखद कुरा भएको चर्चा गर्दै जनताको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पारे।
“हामी संसद्मा राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई खबरदारी गर्छौँ,”–उनले भने ।
काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सिंहले आफ्नो क्षेत्रका समस्यालाई संसद्मा राख्नका लागि मतदाताले बेलाबेलामा जनप्रतिनिधीको खबरदारी गर्नुपर्ने बताउँदै राष्ट्रिय गौरवका योजना निर्माणमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । रासस