१६ वर्ष मुनिको क्रिकेट : नेपालको उपाधि भिडन्त सिंगापुरसँग
प्रकाशित २०७४ पुष १ शनिबार
425
Shares
काठमाडौं । नेपाल १६ वर्ष मुनिको पूर्वी क्षेत्र एसियाली क्रिकेट च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपाल बलियो उपाधि दावेदार मानिएको छ ।
थाइल्यान्डमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ३५ ओभरमा ८ विकेट गुमाउँदै एक सय २७ रन बनायो । नेपालका लागि प्रतिश जिसीले सबै भन्दा बढी २५ रन जोडे ।
एक सय २८ रनको चुनौती पछ्याएको मलेसियाको पारी २१ ओभर १ बलमा ५५ रनमै टुंगियो ।
नेपालका लागि सूर्य तामाङले ४ विकेट चट्काउँदा नारायण जोशीले ३ विकेट लिए । उपाधिका लागि अब नेपालले आइतबार सिंगापुरसँग खेल्ने छ ।
प्रतियोगिताअन्तर्गत् शनिबारै भएको अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै सिंगापुरले फाइनलमा पुगेको हो ।