नेपाल भ्रष्टाचारमा शून्य सहनशीलताको लागि प्रयासरत छ : प्रधानमन्त्री
प्रकाशित २०७४ मंसिर २३ शनिबार
554
Shares
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले सबै मुलुक मिलेर यसको सामना गर्नुपर्ने बताएका छन्। भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अकूत र गैरकानुनी रुपमा आर्जित सम्पति अर्को मुलुकमा समेत राखिने प्रवृत्ति देखिएकाले यसको नियन्त्रणका लागि सबै मुलुकको सहकार्यको खाँचो औल्याएका हुन्।
उनले नेपाललाई भ्रष्टाचारविरुद्ध शून्य सहनशील मुलुकमध्येमा पार्न सरकार प्रयत्नशील रहेको उल्लेख गर्दै भ्रष्टाचारको नियन्त्रण र कारबाहीका लागि आयोगलाई आवश्यक स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री देउवाले भने, “सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ, यसको कार्यान्वयन गरी समाजमा सदाचार स्थापनाका लागि सबैको सहयोग आवश्यक छ । यसका लागि विद्यमान कानूनमा आवश्यक पुनरावलोकनका लागि पनि हामी प्रयत्नशील छौँ ।”
आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सरकारी सम्पतिको हानी नोक्सानी र दोहनको प्रवृत्ति बढिरहेको उल्लेख गर्दै भ्रष्टाचार बढेमा विकास र समृद्धिमा प्रतिकूल असर पर्ने बताए। उनले कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने गरी बनाइने नीति र कानून पनि भ्रष्टाचारजन्य क्रियाकलाप हुने भन्दै निजी क्षेत्रका भ्रष्टाचारलाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको विचार व्यक्त गरे।
मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचार मानव व्यवहारबाट सिर्जित कुकार्य भएकाले सबै पक्षबाट सर्वाेपरीरुपमा लागेमा यसको नियन्त्रण सम्भव भएको उल्लेख गरे । आयोगका सचिव राजन खनालले भ्रष्टाचारबाट आर्जित रकमले विश्वमा आतंककारी क्रियाकलाप समेत भइरहेकाले आयोगले भ्रष्टाचार नियन्त्रणका लागि प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक रणनीति बमोजिम सुशासन गराउने कार्य गर्दैआएको बताए ।
नेपाल, सन् २००३ मा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रभएदेखि हरेक डिसेम्बर ९ मा यो दिवस मनाउँदै आएको छ । रासस