काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा मतदान सुरु भएको छ । निर्वाचन आयोगले शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सुरु भएको जनाएको छ ।
दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान भइरहेको हो ।
प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ ।
दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना सुरु हुनेछ ।
पहिलो चरणको मतगणना साँझ ५ बजेदेखि नै सुरु हुनेछ भने दोस्रो चरणको मतपेटिका संकलन भइसकेपछि सुरु हुनेछ ।
केही ठाउँमा बिहीबार रातिदेखि नै मतगणना गर्न थालिने जनाइएको छ ।
प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् ।
प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् ।