arrow

निर्वाचनको तयारी पूरा,  निर्भिकताका साथ मतदान गर्नुहोस

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
Jhapa_District.png

भद्रपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि झापा जिल्लामा सुरक्षालगायतका सम्पूर्ण तयारी भइसकेको जनाइएको छ । 

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका र उनीहरुले सम्पादन गर्नुपर्ने कार्य पनि तीव्र गतिमा गरिरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए। उनले सुरक्षाका निम्ति केही चुनौती भए पनि सुरक्षाका सबै संयन्त्र परिचालन गरिसकेकाले मतदातालाई मतदान केन्द्रमा निर्भयका साथ मतदान गर्न आग्रह गरे । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच लाख ८५ हजार २२८ मतदाता रहेको झापामा महिला मतदाता दुई लाख ९६ हजार ३६२ र तेस्रोलिंगी नौजना छन् । पाँचवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभातर्फ ५७ प्रदेशसभातर्फ ८४ जना उम्मेदवार चुनावी मैदान उत्रिएका छन् । प्रतिनिधिसभातर्फ दुई महिला र प्रदेशसभातर्फ चार महिला उम्मेदवार छन् भने प्रतिनिधिसभातर्फ सात स्वतन्त्र उम्मेदवार र प्रदेशसभातर्फ छजना स्वतन्त्र उम्मेदवार छन् । 

निर्वाचनलाई व्यवस्थित बनाउन झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएकामा ३९ अतिसंवेदनशील, १०४ संवेदनशील र १३० वटालाई समान्य अवस्थामा रहेकाले सोही अनुसार सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए। 

सुरक्षाको प्रबन्ध निकै बलियो बनाइएकाले जनताले निर्भिकताका साथ आ आफ्ना मतदान केन्द्रमा गएर मतदान गर्न उनले आग्रह गरे । एक मतदान केन्द्रमा आठजना कर्मचारी रहने व्यवस्था मिलाइएको छ । जिल्लामा निर्वाचनलाई धाँधलीरहित, व्यवस्थित, निष्पक्ष बनाउन प्रत्येक निर्वाचन क्षेत्रमा संयोजक रहने गरी अनुगमन समिति बनाएको छ । निर्वाचन क्षेत्र नं १ मा कृष्णचन्द्र पौडेल, २ मा पदम कार्की, ३ मा प्रेमप्रसाद न्यौपाने, ४ मा ज्ञानेन्द्र ओझा र ५ मा खेमराज ओझालाई अनुगमनका लागि जिम्मेवारी प्रदान गरेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताए। 

निर्वाचनका बिषयमा गौरीगञ्ज निवासी विजय अग्रवालले जनताबाट छानिएका प्रतिनिधिबाट निर्माण भएको संविधानपछि पहिलो पटक हुन लागेको यो निर्वाचनले नेपाली जनताको भाग्य खोल्ने धारणा व्यक्त गरे । कुमरखोद निवासी लखिकुमारी गणेशले मुलुकमा समृद्धि र विकासको ढोका खोल्ने यो निर्वाचनका लागि हामी अत्यन्त उत्साहित एवम हौसिएका छौँ अब नेपाल विकासमा पछि पर्नु हुँदैन भने । मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले जनताले चाहेको विकास र समृद्धिका निम्ति यो निर्वाचन कोशेढुंगा साबित हुनेमा जोड दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ